Logo

दशैंको विदामा ३० प्रतिशत नेपाली आन्तरिक भ्रमणमा, पर्यटकीय क्षेत्रमा कोठा पाउनै गाह्रो

दशैंको विदामा ३० प्रतिशत नेपाली आन्तरिक भ्रमणमा, पर्यटकीय क्षेत्रमा कोठा पाउनै गाह्रो



काठमाडौं । कुल आन्तरिक पर्यटकमध्ये दशैंको विदामा ३० प्रतिशतले आन्तरिक भ्रमण गरेका छन् । दशैंको विदामा एक बर्षमा घुम्ने कुल आन्तरिक पर्यटकको ३० प्रतिशतले भ्रमण गरेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले जानकारी दिएका छन ।

जोशीका अनुसार वार्षिक करिब ४५ लाख आन्तरिक पर्यटक घुम्न निस्कने गरेका छन् । सो मध्ये दशैंको विदा सदुपयोग गरी घुम्नेको संख्या ३० प्रतिशत अर्थात करिव १५ लाख रहेको उनले जानकारी दिए । ‘पछिल्लो समयमा पोखरा, चितवन, लुम्बिनी लगायत ट्रेकिङ रुट, होमस्टे तथा धार्मिक क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ,’ उनले भने, ‘नेपाली पर्यटकहरु विशेष गरी ट्रेकिङ रुट, होमस्टे तथा धार्मिक क्षेत्रमा बढी भ्रमण गर्न रुचाउने गरेका छन् ।

दशैंको छुट्टीको सदुपयोग गर्न तथा रमाईला ठाउँहरुको अवलोकन गर्न आन्तरिक भ्रमणमा जानेको संख्या दिनदिनै बढ्दै गइरहेको पर्यटन ब्यवसायीहरु बताउँछन । दशैंको विदा सुरु हुनु अगावै पोखरा, मुस्ताङ चितवन लगायतका होटलहरु भरिभराउ भएको सम्बद्ध ब्यवसायीहरु बताउँछन । ‘यो समयमा विदेशी पर्यटक आउने समय हो,’ एक स्थानीय व्यवसायीले भने, ‘तर पछिल्ला केही वर्षयता आन्तरिक पर्यटकले पोखरा चितवन लगायतका होटल भरिभराउ भएका छन ।’

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का महासचिब आङपेम्बा शेर्पाका अनुसार नेपालको पर्यटकीय राजधानी मानिने ठमेलमानै कोठा नपाउने अवस्था रहेको बताउँछन । ‘एभरेष्ट तिर त्यस्तै छ,’ उनले भने, ‘यो सिजन पर्यटकको लागि सुहाउँदो भएकाले पनि विदेशी होस या नेपाली पर्यटक भ्रमणमा निस्केका हुन्छन ।’ नेपाली पर्यटकको एकिन तथ्याङ नभए पनि दशैंमा मात्रै करिब १० देखि १५ लाख नेपाली पर्यटक भ्रमणमा निस्केका हुन्छन त्यसैले पनि यो अवस्थामा पर्यटकीय क्षेत्रमा कोठा पाउन गाह्रो हुने शेर्पाको भनाई रहेको छ ।

त्यस्तै होटल एशोसिएशन अफ नेपाल (हान) का महासचिव विनायक शाहले भने नेपालमा आन्तरिक पर्यटकलाई अझै बढाउन सकिने बताएका छन । उनका अनुसार नेपालमा करिब २५ लाख पर्यटकलाई कोठा उपलब्ध गराउन सक्ने क्षमताका होटलहरु रहेकाले पर्यटकीय क्षेत्रमा सहजै कोठा पाउन सकिने बताए । पछिल्लो समयमा मुस्ताङलगायत रारा क्षेत्रमा समेत आन्तरिक पर्यटकको चहलपहल बढेको शाहले जानकारी दिएका छन ।

नेपालको भौतिक पूर्वधारलाई विकास गर्न सकेको खण्डमा आन्तरिक होस या बाह्य पर्यटक होस होटलको कमि नहुने उनको तर्क रहेको छ । सरकारले २०२० मा २० लाख पर्यटक ल्याउने नारामात्रै अगाडी सारेको छ तर भौतिक पूर्वधारमा कुनै चासो नदिएको उनको गुनासो छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL