Logo

विश्व बैंक र एडीबीले दिए ३० अर्ब ऋण, खानेपानी, सरसफाई र पुल निर्माणमा लगानी

विश्व बैंक र एडीबीले दिए ३० अर्ब ऋण, खानेपानी, सरसफाई र पुल निर्माणमा लगानी



काठमाडौं । एशियाली विकास बैंक (एडीबी) र विश्व बैंकले नेपाललाई करिब ३० अर्ब रुपैयाँ ऋण उपलब्ध गराएका छन् । यी दुई संस्थाले नेपालमा खानेपानीको पहुँच विस्तार र सडक संजाल विस्तारका लागि उक्त ऋण उपलब्ध गराएका हुन् ।

जस अनुसार एडीबीले खानेपानी र सरसफाईका लागि करिब १५ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । नेपालका २० ओटा नगरपालिकालाई खानेपानी र सरसफाइका लागि १३ करोड अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब १५ अर्ब रुपैयाँ) सहयोग गर्ने भएको हो ।

यस्तै विश्व बैंकले पनि नेपालको रणनीतिक सडकमा पुल सुधार तथा मर्मतका लागि १ सय ३३ मिलियन डलर ऋण उपलब्ध गराएको हो । विश्व बैंकले दोस्रो चरणको पुल सुधार तथा मर्मत कार्यक्रमका लागि नेपालका विभिन्न क्षेत्रमा कूल ४ सय ७७ पुलहरुको मर्मत तथा सुधारमा १ सय ३३ मिलियन डलर (हालको मूल्य अनुसार १५ अर्ब नेपाली रुपैयाँ) ऋण उपलब्ध गराएको हो ।

उक्त रकमबाट ९० पुलको मर्मत, १ सय ८० पुलमा सुरक्षा उपाय सुधार, ८० पुलमा दुई लेनको निर्माण तथा ३५ वटा पुललाई ४ लेनमा स्तरोन्नती गरिने छ । साथै सडक विभागअन्तर्गत निर्माणाधीन ९२ पुलको निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्ने विश्व बैंकले उल्लेख गरेको छ ।

यसैगरी एडीबी बोर्डले विभिन्न २० ओटा शहरी नगरपालिकाको खानेपानीको आपुर्ती, सरसफाई तथा संचारको पहुँचमा क्षमता अभिवृद्धि गर्न उक्त रकम बराबरको अनुदान उपलब्ध गराउने भएको हो । अव्यवस्थित शहरी क्षेत्रको तिव्र वृद्धि, पानीको आपुर्ती अभिवृद्धिमा कमी र सरसफाईको कमिले वातावरणमा प्रतिकुल असर पर्नुका साथै जनस्वास्थ्यमा असर पर्ने र प्राकृतिक ह्रासको संकेत देखिने एडीबीका वरिष्ठ शहरी विकास विज्ञ एलेक्जेन्ड्रा भोगीले जानकारी दिईन ।

नेपालले सन २००० देखि शहरी क्षेत्रमा पानीको पहुँच बढाउन तथा सरसफाईमा ध्यान दिँदै आएको छ । यस्तै सन २०१६ सम्ममा ३४ प्रतिशत जनतासम्म सुरक्षित मात्रामा पानी पुगेको र १५ प्रतिशत जनताले मात्रै शुद्ध खानेपानी पाएको देखिएको छ । यसका साथै सरसफाईमा ध्यान दिन पनि उत्तिकै जरुरी रहेको एडीबीको ठहर छ ।

एडीबीका अनुसार शहरी क्षेत्रमा ३४ प्रतिशत घरधुरीमा मात्रै सेफ्टी ट्याँकी रहेको र १५ प्रतिशतमा मात्रै ढलको व्यबस्था रहेको छ । एडीबीले नयाँ परियोजनाले १ हजार ६ सय किलोमिटर पाईपबाट प्रतिदिन लगभग ६ लाख लिटर खानेपानीको आपुर्ती गर्न सकिने छ । जसले ६६ हजार घरधुरीलाई पाईपको पानीसँग जोड्नेछ । यस्तै उक्त अनुदानको रकमले सार्वजनिक स्थानमा अपाङ्गमैत्रि चर्पी सहित ८ हजार ओटा चर्पी, २ ओटा खेर गएको पानी प्रशोधन गर्ने प्लान्ट र ३० किलोमिटर नालीको पानि बग्ने पाईप विछ्याउन सकिनेछ ।

परियोजनाले गरिब घरपरिवारलाई अनुदानमा पानीको पहुँच पुर्याउने काम पनि गर्नेछ । साथै स्वस्थ्य बानिव्यहोराका लागि पनि विभिन्न योजना बनाईने भएको छ । परियोजनाको कुल लागत १७ करोड डलर अनुमान गरिएको छ । परियोजनामा नेपाल सरकारको भने लगभग ४ करोड ८५ लाख डलर योगदान रहने छ । परियोजना सन २०२३ को अक्टोबरसम्ममा पुरा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL