Logo

९० करोडमा भैरहवा विमानस्थलको कार्गो टर्मिनल निर्माण हुने, ठेकेदार कम्पनी टुंगो लाग्यो

९० करोडमा भैरहवा विमानस्थलको कार्गो टर्मिनल निर्माण हुने, ठेकेदार कम्पनी टुंगो लाग्यो



काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले भैरहवामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनल भवन निर्माणकर्ता कम्पनी टुङ्गो लगाएको छ । प्राधिकरणका अनुसार निर्माणको लागि आह्वान गरिएको बोलपत्रमा सबैभन्दा कम मूल्य शर्मा–लुम्बिनी– गजुरमुखि जोइन्ट भेन्चरले प्रस्ताव गरेको छ । उक्त कम्पनीले ९० करोड ३६ लाख ३४ हजार रुपियाँमा कार्गो टर्मिनल बनाउने प्रस्ताव गरेको हो । सार्वजनिक खरिद ऐनमा भएको व्यवस्था अनुसार सबैभन्दा कम मूल्य प्रस्ताव कम्पनीलाई ठेक्का लगाउनुपर्ने प्रावधान छ ।

प्राधिकरणले सन् २०१९ को अगष्ट महिनामा उक्त विमानस्थल सञ्चालनमा ल्याउने गरि काम अघि बढाएको छ । यसअघि पटक पटक विवादमा परेर निर्माण अवरोध भएपनि पछिल्लो समय यसले गति लिएको छ । धावनमार्ग निर्माणका लागि अधिकांश काम पुरा भएका छन् ।

प्राधिकरणले बुधबारमात्रै सार्वजनिक सूचना प्रकाशित गरि उक्त विमानस्थलमा एयर ट्राफिक म्यानेजमेण्टका लागि आवश्यक उपकरण तथा मौसमको जानकारी दिने मेटेरोलोजिकल इक्विपमेण्ट तथा यससँग सम्बन्धित अन्य सामग्री उपलब्ध गराउन बोलपत्र आह्वान पनि गरेको छ । दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत एसियाली विकास बैंकले यसमा लगानी गर्नेछ । बोलपत्रको लागि नोभेम्बर ५ सम्मको अन्तिम मिती तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL