Logo

मेचीमहाकाली विद्युतीय रेलमार्गको टेण्डर आह्वान गरिँदै, पहिलो चरणमा बर्दिबास देखी निजगढसम्म

मेचीमहाकाली विद्युतीय रेलमार्गको टेण्डर आह्वान गरिँदै, पहिलो चरणमा बर्दिबास देखी निजगढसम्म



काठमाडौं । सरकारले मेचीमहाकाली विद्युतीय रेलमार्गको बोलपत्र आह्वान गर्ने भएको छ ।

हाल मेचीमहाकालीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सम्पन्न भएकाले तत्काल बोलपत्र आह्वान गर्न तयारी भईरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

‘हामीले पहिलो चरणमा सो खण्डको बर्दिबास देखी निजगढसम्मको लागि बोलपत्र आह्वान गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘हाल बोलपत्र आह्वानका लागि तोक लगाउन नेपाल सरकारकोमा पठाएका छौं तोक लागेर आउने वित्तिकै आह्वान गर्नेछौं ।’ साथै बर्दिबासदेखि निजगढसम्मको डीपीआरको काम सकिसकेको उनले जानकारी दिए ।

तर, सो रेल्वे निर्माणका लागि आन्तरिक वा ग्लोबल टेण्टर गर्ने भन्ने विषयमा टुङ्गो नभईसकेको समेत उनले जानकारी दिए । ‘राष्ट्रिय रुपमा टेण्डर गर्ने हो भने ३० दिन र ग्लोबल टेन्डर आह्वान गर्ने भए ४५ दिनको म्याद राखेर बोलपत्र आह्वान गर्नेछौं ।’

उनका अनुसार पछिल्लो समय निजगढ–हेटौंडा खण्डको डिपिआरको काम सम्पन्न भईसकेको छ । तर, पहिलो खण्डमा बर्र्दिबास देखी निजगढ सम्मको मात्र टेण्डर गर्ने भएकाले तोक लगाउन पठाइएको छ । साथै दोस्रो चरणमा निजगढ हेटौंडाको टेण्डर गरेर काम अगाडी बढाइने समेत मिश्रले जानकारी दिए ।

निर्माणधिन अवस्थामा रहेको जयनगर–कुर्तासम्मको ३५ किलोमिटर रेलमार्ग भने निर्माणको अन्तिम चरणमा रहेको समेत मिश्रले जानकारी दिएका छन । जनकपुर–जयनगर–कुर्ता रेलमार्गको निरीक्षणको क्रममा जनकपुर पुगेका महानिर्देशक मिश्रले तत्काललाई भाडामै भए पनि रेल ल्याएर संचालन गर्ने बताएका छन ।

२०१९ भित्रै रेल खरिद गरी संचालनमा ल्याउन नसकिने भएकाले तत्कालका लागि भाडामै भए पनि रेल ल्याएर संचालन गर्न लागेको मिश्रले बताए । गत जेठमा विभागका सिनियर डीभिजन ईन्जिनियर प्रकासभक्त उपाध्यायले आर्थिक वर्ष भित्रै रेल खरिद गर्ने प्रकृयामा लागेको बताएका थिए । उपाध्यायले ४ वटा रेलका लागि करीब २ अर्ब रुपैयाँ लागत लाग्ने समेत बताएका थिए ।

साथै वीरगञ्ज–काठमाडौँ रेलमार्ग निर्माणका लागि प्रक्रिया अगाडि बढेको समेत विभागले जानकारी दिएको छ । विभागका अनुसार भारतबाट वीरगञ्जको सुख्खा बन्दरगाहसम्म ८ सय मिटर रेल्वेमार्ग बनिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL