Logo

व्यापार घाटा ६२ प्रतिशतले बढ्यो, महिनामै सवा खर्बको आयात

व्यापार घाटा ६२ प्रतिशतले बढ्यो, महिनामै सवा खर्बको आयात



काठमाडौं । सरकारले उत्पादन तथा निर्यात वृद्धि गर्दैै व्यापार घाटा न्यूनीकरण गर्ने नीति लिएको छ । तर, सरकारको नीतिअनुसार उत्पादन तथा निर्यात बढ्न नसक्दा व्यापार घाटा अझ उच्च रुपमा बढ्न थालेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालको १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । यो अघिल्लो आबको सोही अवधिको तुलनामा ६२ दशमलव ३५ प्रतिशतले बढी भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

विभागकाअनुसार साउन महिनामा मात्रै नेपालमा १ खर्ब २० अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । एक महिनामा भएको यो आयात अघिल्लो बर्षको सोही अवधिको तुलनामा ५७ दशमलव १८ प्रतिशतले बढी हो ।

आयात उच्चदरमा वृद्धि हुँदा निर्यातको अवस्था भने सन्तोषजनक देखिदैन । समिक्षा अवधिमा नेपालले कुल ६ अर्ब ९२ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गर्न सकेको छ । यो निर्यात अघिल्लो आवको सोहि अवधिको तुलनामा ३.१९ प्रतिशतले मात्रै बढी हो । निर्यातको तुलनामा आयात वृद्धिदर उच्च हुँदा नेपालको व्यापार घाटा चुलिएको हो ।

साउन महिनामा नेपालले कुल १ खर्ब २७ अर्ब ५३ करोड रुपैयाँको व्यापार गरेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९४ दशमलव ६ प्रतिशत र निर्यातको हिस्सा ५ दशमलव ४ प्रतिशत रहेको छ । यससँगै वैदेशिक व्यापारमा आयात निर्यात अनुपात १७.४ः१ पुगेको छ ।

खासगरी हवाईजहाज तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, फलाम तथा स्टिललगायत वस्तुको आयात ५० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL