Logo

केरुङ–काठमाडौं रेलमार्गको छलफल गर्न नेपाली टोली चीन जाँदै, मंगलबार प्रतिवेदन सार्वजनिक गर्ने

केरुङ–काठमाडौं रेलमार्गको छलफल गर्न नेपाली टोली चीन जाँदै, मंगलबार प्रतिवेदन सार्वजनिक गर्ने



काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको विषयमा छलफल गर्न नेपाली टोली शनिबार चीन जाने भएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य सहितको टोली चीन जाने भएको हो । चिनियाँ रेल विभागको निमन्त्रणामा नेपाली टोली बेईजिङ जान लागेको रेल विभागका इन्जिनियर किरण कार्कीले जानकारी दिए ।

टोलीले केरुङ काठमाण्डौ रेलमार्ग सम्भाव्यता अध्ययनका लागि गठित टोलीसँग विशेष छलफल गर्ने कार्यक्रम छ । छलफल पछि मंगलबारसम्म प्रतिवेदन सार्वजनिक हुने कार्कीले बताए । यस अघि विभागले भने असोजमा प्रतिवेदन ल्याउने जानकारी दिएको थियो ।

चीन सरकारको प्राविधिक टोली गत जेठमै केरुङ–काठमाडौं रेल मार्गको सम्भाब्यता अध्ययन गरी फर्किएको थियो । चिनियाँ प्राविधिक टोलीले काठमाडौँ देखि नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे) केरुङसम्मको करब ७२ किलोमिटरको अध्ययन सम्भाव्यता पूरा गरेको थियो ।

प्राविधिक टोलीले एक साताको अवधिमा गरेको पूर्व सम्भाव्यता अध्ययनबाट काठमाडौँदेखि नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्था सहितको सम्भाव्यताको विषयमा प्रतिवेदन तयार गरिसकेको छ । सोही प्रतिवेदन माथी छलफल गर्न टोली चीन जान लागेको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL