Logo

एक हप्ताभित्रै कलंकी अण्डरपास हुँदै गुड्नेछन् सवारी, दोस्रो खण्डको डिजाईन नआउँदा भने काम रोकियो

एक हप्ताभित्रै कलंकी अण्डरपास हुँदै गुड्नेछन् सवारी, दोस्रो खण्डको डिजाईन नआउँदा भने काम रोकियो



काठमाडौं । कलंकीमा निर्माणको अन्तिम चरणमा रहेको ‘अन्डरपास वे’ बढीमा एक हप्ताभित्र सञ्चालनमा आउने भएको छ । हाल अन्डरपासको सडक कालोपत्रे गर्न मात्रै बाँकी रहेको र त्यो काम पनि दुई दिनभित्रै पुरा हुने भएकोले छिटै सञ्चचालनमा आउने चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकास भण्डारीले जानकारी दिए ।

निरन्तरको बर्षाले काम प्रभावित हुँदा यस अघि तोकिएको समयमै सञ्चालन गर्न ढिलाई भएको आयोजनाले जनाएको छ । कोटेश्वर कलंकी सडक खण्ड अन्तर्गत बल्खुहुँदै कलंकी पार गरेर सितापाईलातर्फ जाने र सितापाइलाबाट बल्खुतर्फ आउन अन्डरपासको व्यवस्था गरिएको हो । कलंकीमा बढ्दो जाम कम गर्न अन्डरपास सहयोगी हुने आयोजनाको दाबी छ ।

चक्रपथ सडक तथा विस्तार अन्तर्गत दोस्रो खण्डमा कलंकीदेखि महाराजगंजसम्मको डिजाइन चिनियाँ पक्षबाट तयार नभइसकेकाले निर्माणमा ढिलाई भइरहेको प्रमुख भण्डारीले जानकारी दिए । उक्त खण्डको आसपास ३१ मिटर भित्रका घरटहरा हटाउन सुचना जारी गरेर केहि घर टहरा हटाइएको अवस्था छ ।

सो क्षेत्रका घरटहरा असार मसान्तभित्रै हटाउने भनिए पनि विभिन्न कारणले बाधा पुुर्याएको आयोजना प्रमुख भण्डारी बताउँछन् । उनका अनुसार खानेपानी, विजुलीको लाईन तथा आसपासका रुखहरु पन्छाउनका लागि पेश्कीस्वरुप रकम पनि भुक्तान भइसकेको छ । तर, आसपासका रुखहरु काट्न भने वन विभागको स्विकृती लिन बाँकी रहकाले हाल रुख भने काट्न सुरु गरिएको छैन । उक्त खण्डका बिजुलीका पोल तथा खानेपानीको व्यवस्थापन गर्न सुरु भइसकेको छ ।

हाल निर्माण कार्य भइरहेको कोटेश्वर कलङकी खण्डको भने काम अन्तिम चरणमा पुगेको र अबको ५ महिनामा उक्त खण्ड हस्तान्तरण गर्ने गरी काम थालिएको छ ।  उक्त खण्डमा फिनीसीङका कामहरु भइरहेको छ । अबको १५ दिनभित्र विभिन्न स्थानमा आकाशे पुलको निर्माण पनि सुरु हुने भएको छ । उक्त सडकको सवै काम सकिएपछि यही बर्षको डिसेम्बर १५ मा हस्तान्तरण गर्ने तयारी रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL