Logo

एडीबीको ३३ आयोजनामा २ खर्ब ३३ अर्ब लगानी, कार्यान्वनमा २० आयोजना

एडीबीको ३३ आयोजनामा २ खर्ब ३३ अर्ब लगानी, कार्यान्वनमा २० आयोजना



काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालमा संचालित आयोजनाहरुमा २ अर्ब ३३ करोड ९० लाख डलर अर्थात २ खर्ब ३३ अर्ब रुपैयाँ लगानी गरेको छ । एडीबीले आज नेपालमा संचालित आयोजनाहरुको पोर्टफोलियो रिभ्यु गर्दै २०१८ को जुन अन्तिमसम्मका सो बराबरको लगानी भएको जानकारी दिएको हो ।

सो अबधिसम्म आईपुग्दा एडीबीले नेपालका ३३ वटा आयोजनाहरुमा लगानी गरेको छ । जसमध्ये सबैभन्दा बढि लगानी शहरी विकास र खानेपानीमा गरेको जानकारी दिएको छ । हालसम्म सो क्षेत्रमा एडीबीले कुल लगानीको ३२ प्रतिशत अर्थात ७५ करोड ८० लाख डलर लगानी गरेको जानकारी दिएको छ ।

एडीबीले हाल खानेपानी र शहरी यातायात विकास अन्तरगत मेलम्ची खानेपानी, काठमाडौं उपत्यकाको पानी व्यवस्थापन, एकिकृत शहरी विकास तथा क्षेत्रीय शहरी विकास जस्ता क्षेत्रमा काम गर्दै आएको छ ।

यसैगरी एडीबीको दोस्रो ठूलो लगानी जलविद्युत क्षेत्रमा रहेको छ । उसले सो क्षेत्रमा ५४ करोड ३० लाख अमेरिकी डलर लगानी गरेको छ । ऊर्जा अन्तरगत सासेक पावर सिस्टम, तनहुँ जलविद्युत आयोजना, ट्रान्समिसन लाईनजस्ता क्षेत्रमा काम गर्दै आएको छ ।

यस्तै एडीबीले यातायात पूर्वाधारमा ४१ करोड ६० लाख डलर लगानी गरेको छ । एडीबीले विशेषगरी गौतमबुद्ध विमानस्थल निर्माण, दक्षिण एशियामा पर्यटन पूर्वाधार निर्माण र सासेक रोड सुधारका लागि काम गर्दै आएको छ ।

यस्तैगरी कृषि तथा प्राकृतिक स्रोत र साधन, पुनर्निर्माण, शिक्षालगायतका क्षेत्रमा एशियाली विकास बैंकले काम गर्दै आएको छ ।

एडीबीले लगानी गरेका मध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजन देखिएको छैन । तसर्थ आज हुने पोर्टफोलियो रिभ्युले ३३ मध्ये १९ आयोजनाको रिभ्यु गर्ने भएको छ । उक्त कुल ६ क्षेत्रको १९ वटा आयोजनाहरुको काम सन्तोषजनक नभएको भन्दै त्यसलाई रिभ्यु गर्न लागिएको हो ।

विशेषगरी विमानस्थल निर्माण, सासेक रोड सुधार, खानेपानी, ऊर्जा तथा शहरी विकासका काममा लक्ष्य अनुरुप काम हुन नसकेको एडीबीको निष्कर्ष रहेको छ ।

एडीबीले सन् २०१८ मा ४४ करोड ७० लाख डलर बराबरको आयोजना सम्झौता र उपलब्धि गर्ने लक्ष्य लिएकोमा दास्रो क्वाटरसम्ममा त्यसको ७० प्रतिशत लक्ष्य हासिल गरेको जानकारी दिएको छ ।

यसैगरी सो अबधिमा ३३ करोड ८० लाख डलर भुक्तानी गर्ने लक्ष्य लिएकोमा त्यसको ७४ प्रतिशत मात्र पुरा भएको एडबीका सिनियर प्रक्युरमेन्ट आफिसर नरेन्द्र चन्दले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अर्थ सचिव डा. राजन खनालले आगामी दिनका एडीबीद्वारा संचालित आयोजनाहरुलाई द्रूत गतिमा अधि बढाउन अन्तर मन्त्रालय समन्वयलाई प्राथमिकता दिने जानकारी दिए । ‘एडीबीका नेपाल संचालित आयोजनालाई अघि बढाउन सोही अनुरुप विभिन्न मन्त्रालयसँग सहकार्य गर्नेछौं,’ उनले भने, ‘अबका दिनमा आयोजना अघि बढाउन कुनै कसुर बाकी राख्ने छैनौ’ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL