Logo

खानेतेलको भन्सार छुटमा कडाई गर्न भारतीय उत्पादकको माग, सार्क राष्ट्रहुँदै बाहिरको भित्रिएकोमा आपत्ति

खानेतेलको भन्सार छुटमा कडाई गर्न भारतीय उत्पादकको माग, सार्क राष्ट्रहुँदै बाहिरको भित्रिएकोमा आपत्ति



काठमाडौं । भारतका खाने तेल उत्पादकले सार्क सदस्य राष्ट्रहरुलाई खाने तेल निर्यातमा उपलब्ध गराउँदै आएको भन्सार छुटको सुविधामा कडाई गनुपर्ने माग गरेका छन् । सदस्य राष्ट्र हुँदै मलेसिया तथा इन्डोनेसियाका खानेतेल भारत भित्रिएको र त्यसमा पनि भन्सार छुटको सुविधा उपयोग हुँदै आएको उनीहरुको आरोप छ ।

सार्क सदस्य राष्ट्रमा ती देशबाट तेल आउने र त्यस्तो तेल भारतको छुटको उपयोग गरी बजार प्रवेश गर्दा स्थानीय उत्पादक ठूलो मारमा परेको उनीहरुको गुनासो छ । भारतमा खासगरी नेपाल, श्रीलंका र बंगलादेशबाट खाने तेल निर्यात हुने गर्छ । यी देशले खाने तेल निर्यात गर्दा ड्युटी फ्रि सुविधा पाउँदै आएका छन् ।

सार्क बाहेकका देशबाट भारतमा खाने तेल निर्यात गर्दा भने भन्सार तिर्नुपर्ने सुविधा छ । तर सार्क देशमा ल्याएर त्यहाँबाट भारत प्रवेश गर्दा छुटको सुविधा उपयोग गरेर भारतीय बजारमा सस्तोमा तेल उपलब्ध गराउँदा आफ्नो बजार मै समस्या आएको गुनासो त्यहाँका उत्पादकले सरकार समक्ष गरेका छन् ।

भारतको जामनगरस्थित तेलमिल तथा तेलहन उत्पादन व्यापारीको संगठन सौ राष्ट्र तेल मील संघ (सोमा)ले केन्द्र सरकारसँग सार्क राष्ट्रहरुले उत्पादन गरेको तेलमा मात्रै भन्सार छुट दिन आग्रह गरेका छन् । उनीहरुले युनियन कृषी मन्त्री राधामोहन सिंहलाई चिठी लेख्दै स्वदेशी उत्पादनलाई संरक्षण गर्न आग्रह गरेका हुन् ।

चिठीमा उत्पादकहरुले भन्सार कर बढाउन पनि सुझाव दिएका छन् । ‘किसानहरुलाई तेलहन उत्पादनमा उत्साहित गर्न पनि खानेतेलमा भन्सार कर बढाउनुपर्छ ’ उत्पादकको सुझाव छ ।

केहि आयातकर्ताले ठूलो मात्रामा भन्सार कर छलेर इन्डोनेसिया तथा मलेशियाबाट पनि खानेतेल आयात भइरहेको उत्पादकको आरोप छ । इन्डोनेसिया र मलेसियामा पामोलियन तेल उत्पादन हुने र त्यस्तो तेल सार्क राष्ट्र हुँदै भित्रिदा उच्च रुपमा भन्सार घाटा गएकोे उत्पादकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
MBL