Logo

जहाज किन्न स्विकृति लिनेको चाङ, नेपाली आकाशमा एक दर्जन जहाज थपिदैं

जहाज किन्न स्विकृति लिनेको चाङ, नेपाली आकाशमा एक दर्जन जहाज थपिदैं



काठमाडौं । हवाई यात्रुको संख्यामा वर्षेनी अधिक वृद्धि हुन थालेपछि बजार हवाई सेवा प्रदायक जहाज थप्न प्रतिस्पर्धा गरिरहेका छन् ।

निजीसहित राष्ट्रिय ध्वजावाहक वायुसेवा निगम पनि जहाज थप गर्ने तयारीमा जुटेको छ । सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेर अभियान सुरु गरेको सन्दर्भमा हवाई कम्पनीहरु पनि जहाज थपको स्विकृति लिएर नागरिक उड्ययन प्राधिकरण पुगेका छन् ।

हालैमात्र निगमले पहिलो वाइडबडी जहाज भित्राइसकेको छ । दुई ओटा न्यारोबडी खरिदको प्रक्रिया पनि अघि बढाउने निगमको योजना छ । निगमले (एयरबस ए ३२०) न्यारोबडी २ वटा जहाज खरिद गरेको अवस्थामा निगमसँग अन्तरराष्ट्रिय उडानका लागि ४ वटा न्यारोबडी जहाज र २ वटा वाइडबडी जहाज हुनेछन् ।

कुन कम्पनीले ल्याउँदैछन् नयाँ विमान ?

नयाँ विमान ल्याउने तयारीमा रहेका विमान कम्पनीहरुमा श्री एयरलाईन्स, बुद्ध एयर, यत्ती एयर, तारा एयर छन । श्री एयरलाईन्सले क्यू ४०० सिरिजका चार ओटा विमान ल्याउने तयारी गरेको छ । तर श्रीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति पाउन नसकेको फ्लईट सेफ्टी स्ट्याण्डर्ड विभागका वरिष्ठ अधिकृत विनय गिरीले बताए ।

उनका अनुसार बुद्ध एयरले भने चार वटा जहाज ल्याउने स्वीकृति पाईसकेको छ । यती एयरले पनि दुई ओटा एटीआर जहाज ल्याउन स्वीकृति पाएको छ । तारा एयरले एउटा ट्वीनअटर ल्याउन मन्त्रालयबाट स्वीकृति पाईसकेको छ ।

त्यस्तै मुस्ताङ हेलीकप्टर भने जहाज उडान अनुुमतिको दोस्रो चरणमा रहेको गिरीले जानकारी दिए । मन्त्रालयबाट स्वीकृति पाए पनि कम्पनीको जनशक्तिको अवस्था र एओसीको पाँच चरण पास गरे पछि मात्र हेलीकप्टर ल्याउन दिईने उनले बताए । मुस्ताङले चार ओटा हेलिकप्टर ल्याउने तयारी गरिरहेको छ ।

प्राधिकरणमा अहिले आन्तरिक उडान तर्फ नेपाल एयरलाईन्स, एत्ती एयरलाईन्स, बुद्ध एयर, सीता, तारा, समिट, मकालु, सौर्य, श्री एयरलाईन्स तथा सीम्रीक एयरलाईन्स दर्ता छन् ।

त्यस्तै हेलीकप्टर उडानका लागि एयर डाईनास्टी, सिम्रीक एयर, हिमालय एयरलाईन्स, फिस्टेल एयर, माउन्टेन, प्रभु हेलीकप्टर, मनाङ एयर अल्टीच्युड एयर, कैलाश हेलीकप्टर तथा हेली एभरेष्ट दर्ता गरेका छन् । साथै ७४ ओटा प्याराग्लाईडीङसहित २१ विमान कम्पनी दर्ता भएको प्राधिकरणका प्रवक्ता विरेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

कुन कम्पनीसँग कति विमान ?

ध्वजाबाहक निगमसँग हाल १३ ओटा विमान छन् । हिमालयन एयरलाईन्ससँग अन्तरराष्ट्रिय उडानका लागि तीन ओटा विमान छन् । त्यस्तै श्री एयरलाईन्ससँग ११, सौर्य एयरलाईन्स दुई, बुद्ध एयर १०, यत्ती एयरलाईन्स ८,अल्टीच्युड एयर २, फिस्टेल एयरसँग ३ तथा हेली एभरेष्ट सँग २ वटा जहाज रहेको प्राधिकरणको तथ्यांक छ ।

कैलास हेलिकप्टरसँग २, मकालु एयरको ३, प्रभु हेलीकप्टर ३, सिम्रीक एयर ४, सिता एयर ४, समिट एयर ४, तारा एयर ५, सिम्रीक एयरलाईन्स २, मनाङ एयर २, एयर डाईनास्टी ५, माउन्टेन हेलिकप्टरसँग २ वटा जहाज रहेका छन ।

नेपालमा निजी क्षेत्र तथा नेपाल वायुसेवा निगम गरी हाल ९० वटा विमानहरु संचालनमा रहेका छन् । जसमध्ये ३३ वटा हेलीकप्टर रहेका छन भने ५७ वटा जहाज रहेका छन । ९० वटा विमानहरुले नेपालको करिब २९ वटा विमानस्थलबाट उडान गर्दै आएको छ भने अन्य २० वटा विमानस्थलबाट भने उडान गर्न सकेका छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL