Logo

प्राधिकरण र १४० मेवाको तनहुँ जलविद्युत आयोजनाबीच पीपीए , ५ बर्षभित्र विद्युत उत्पादन

प्राधिकरण र १४० मेवाको तनहुँ जलविद्युत आयोजनाबीच पीपीए , ५ बर्षभित्र विद्युत उत्पादन



काठमाडौं । नेपाल विद्युत प्राधिकरण र १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाबीच पीपीए सम्झौता भएको छ । प्राधिकरण र आयोजनाबीच शुक्रबार विद्युत खरिद–बिक्री सम्झौता ‘पीपीए’ मा हस्ताक्षर सम्पन्न भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाका प्रवन्ध–सञ्चालक प्रदिप कुमार थिकेले उक्त जलाशययुक्त आयोजनाकोे विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता अनुसार आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरेको ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्र को अवधिमध्ये जुन घटी छ सो समयसम्मको सम्झौता अवधि हुनेछ । साथै उक्त आयोजनाले व्यापारिक उत्पादन २०८० को चैत्र मसान्तसम्म गर्नुपर्ने छ ।

यस्तै प्राधिकरणले कम्पनीसंग सुख्खायाममा १५ दशमलव ३८ र बर्षायाममा ७ दशमलव ५४ रुपैयाँमा विद्युत खरिद गर्नेछ । साथै कम्पनीले उक्त महशुलमा बार्षिक ३ प्रतिशतका दरले विद्युत महशुल बढाउने सम्झौतामा उल्लेख छ । उक्त आयोजनाबाट उत्पादित विद्युत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित गरिने पनि प्राधिकरणले जानकारी दिएको छ ।

आयोजनाको पूूर्वाधार निर्माण कार्यहरु सम्पन्न हुने अवस्थामा रहेका छन् भने मुख्य संरचना निर्माणको लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको मुख्य संरचनाहरुको निर्माण कार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको कम्पनीले जानकारी दिएको छ ।

जसमध्ये एसियाली विकास बैंक(एडीबी)ले १ सय ५० मिलियन अमेरिकी डलर, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले१ सय ८४ मिलियन अमेरिकी डलर, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको पनि कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL