Logo

उद्घाटन गरेको ४ बर्षपछि संचालनमा आयो भैरहवाको सेज, २४ उद्योगलाई १ महिने अल्टिमेटम

उद्घाटन गरेको ४ बर्षपछि संचालनमा आयो भैरहवाको सेज, २४ उद्योगलाई १ महिने अल्टिमेटम



काठमाडौं । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) संचालनमा आएको छ । लामो समयदेखि अन्यौलमा रहेको सेज बुधबारबाट उद्योग खोल्ने काम सुरु भएको सेज समितिका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले जानकारी दिए । सो सेज उद्घाटन गरेको ४ बर्ष पछि संचालनमा आएको हो ।

उनका अनुसार बुधबारबाट सेजमा शक्ति मिनिलर्स र आईडीएस इनर्जीले उद्योग स्थापना कार्य अघि बढाएका हुन् । ती उद्योगहरुले हाल उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणका काम सुरु गरेको समेत उनले जानकारी दिए । ‘बुधबारबाट दुवै उद्योगले आफ्नो कम्पाउण्ड बनाउने देखि उद्योगका लागि आवश्कय पूर्वाधार बनाउन सुरु गरेका छन्,’ उनले भने ।

सेज भित्र उद्योग स्थापनाको काम अघि बढाएका दुई उद्योगमध्ये आईडीएस इनर्जीले विद्युतीय सवारीसाधन बनाउने छ । जसले २ पाङ्ग्रेदेखि ४ पाङ्ग्रेसम्मका सवारीसाधन निर्माणगर्ने भट्टले जानकारी दिए । यसैगरी बुधबारबाटै संचालमा आएको अर्को उद्योग शक्ति मिनिलर्सले जडिबुटी प्रसोधन गर्नेछ ।

भैरहवाको सेजमा उद्योग स्थापनाका लागि कुल २६ वटा उद्योगलाई अनुमति दिइएको थियो । जसमध्ये हाल २ वटा उद्योग मात्र संचालनमा आएको हो । अन्य २४ वटा उद्योगहरुले संचालन अनुमति लिएपनि कुनै काम अघि नबढाएको भट्टले जानकारी दिए । ‘अन्य उद्योगलाई पनि १ महिनाभित्र संचालनमा ल्याउनका लागि पत्र काट्नेछौं,’ उनले भने, ‘सो अबधिसम्ममा संचालनमा नआएमा अनुमति नै खारेज गर्ने छौं ।’

भट्टका अनुसार सेजमा कुल ८ अर्ब लगानी हुने छ । सेजमा स्थानमा हुन लागेको सो उद्योगले ५ हजार ४ सय जनालाई रोजगारी दिने समेत भट्टले जानकारी दिए ।

सेजमा खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, गलैचा तथा ऊनी सामान, पश्मिना तथा रेशम, इलेट्रिक सामान, हाते कागज, धातु उद्योग, खेलकुद, गहना तथा बहुमुल्य पत्थर, प्लास्टिक समानको उत्पादन गर्ने उद्योगलाई विशेष प्राथमिकता दिने गरी अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL