Logo

काठमाडौं महानगरको बजेटः जग्गाको मूल्याङ्कन ४ गुणासम्म बृद्धि, हेर्नुहोस केमा कति बढ्यो

काठमाडौं महानगरको बजेटः जग्गाको मूल्याङ्कन ४ गुणासम्म बृद्धि, हेर्नुहोस केमा कति बढ्यो



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार महानगरका उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७५/०७५ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट पेश गरेकी हुन् ।
बजेटको स्रोतमा आन्तरिक आय ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाहृय स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख अनुमान छ ।

महानगरले वडास्तरमा पूर्वाधार निर्माणमा ३ अर्ब ६ करोड २५ लाख बजेट बिनियोजन गरेको छ । कार्यालय सञ्चालन र प्रशासनिक खर्च १ अर्ब ९३ करोड छ ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षको बजेटमार्फत जग्गाको मूल्याङ्क उच्च रुपमा बढाएको छ । महानगरले बजेटमार्फत जग्गाको मूल्याङ्कन सहित पार्किङ शुल्क तथा अन्य सेवामा लाग्ने दस्तुर समेत बढाएको छ ।

महानगरले बजोट मार्फत काठमाडौंको जग्गाको मूल्य ४ गुणासम्म बढाएको छ । महानगरले अनुसार मनोहरा पुल, अरनिको राजमार्ग, चक्रपथ, तीनकुन, गैह्रीगाउँ, सिनामंगल, तीलगंगा, गौशाला, मित्रपार्क हुँदै चाबहिल मालपोत कार्यालय सीमानासम्मको मूल सडक जोडिएको दाँया बाँयाका जग्गाको मूल्य प्रतिआना ३४ लाख रुपैयाँ तोकेको छ ।

यसैगरी केशरमहल प्रवेशदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाको मूल्यांकन प्रतिआना ६० लाख रुपैयाँ कायम गरेको छ । हनुमानढोका, इन्द्रचोक, असन, भोटाहिटीलगायतका क्षेत्रमा प्रतिआना ६० लाख रुपैयाँ कायम गरिएको छ ।

महानगरको बजेटले दरबामार्ग, जमल क्षेत्र तथा माइतीघरदेखि कृष्ण पाउरोटीसम्मका जग्गाको मूल्यांकन पनि प्रतिआना ६० लाख रुपैयाँ कायम गरेको छ । तर, पुतलीसडक, बागबजार र रत्नपार्कसम्मको मूल बाटो छेउको सडकको मूल्य प्रतिआना ४८ लाख रुपैयाँ कायम भएको छ ।

बजेटमार्फत बालकुमारी पुलदेखि कोटेश्वर हुँदै तीनकुने मीनभवन, नयाँ बानेश्वर, बिजुलीबजार, थापाथली, त्रिपुरेश्वर हुँदै विष्णुमती पुलसम्मको मूल सडकसँग जोडिएका जग्गाको मूल्यांकन प्रतिआना ३८ लाख रुपैयाँ तोकिएको छ ।

तर, प्यूखा न्यूरोड हुँदै ओटु जाने बाटोको मूल्यांकन ३६ लाख रुपैयाँ प्रतिआना गरिएको छ । यसैगरी महाबौद्धबाट वीर अस्पताल जाने बाटोको मूल्यांकन ३६ लाख रुपैयाँ नै कायम गरिएको बजेटमा उल्लेख छ ।

यसैगरी महानगरले आजै ल्याएको आगामी आबको आर्थिक ऐनले पार्किङ शुल्कमा पनि उच्च बृद्धि गरेको छ । नयाँ व्यवस्था अनुसार सवारीसाधन पार्किङको प्रतिघन्टा १५ देखि ३०० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । यस अघि यस्तो शुल्क ५ देखि १५ रुपैयाँ तोकेको थियो ।

यसैगरी महानगरले घरबाटो तथा धारा पानीको लागि सिफारिस लिँदा लाग्ने शुल्कमा पनि बृद्धि गरेको छ । महानगरका अनुसार घरजग्गा नामसारीको सिफारिस लिन १ हजार रुपैयाँ तिर्नुपर्छ भने मोही लगत कट्टाको ५ हजार, घर कायम सिफारिसको १५ सय, छात्राबृत्ति सिफारिसको १ सय र अस्थायी बसोबासको सिफारिसमा स्वदेशी नागरिकलाई २ हजार र विदेशीको लागि ५ हजार रुपैयाँ शुल्क लाग्ने भएको छ ।

स्थायी बसोबासको सिफारिसको ५ सय, अंगिकृत नागरिकता सिफारिसको १० हजार र बैबाहिक अंगिकृत नागरिकता सिफारिसको २५ सय रुपैयाँ शुल्क लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL