Logo

१० लाख रुपैयाँभन्दा माथीको व्यवसायीक कर्जा लिन अनिवार्य भ्याटमा

१० लाख रुपैयाँभन्दा माथीको व्यवसायीक कर्जा लिन अनिवार्य भ्याटमा



काठमाडौं । आगामी दिनमा १० लाख रुपैयाँभन्दा बढि व्यवसायीक कर्जा लिएका फर्म तथा कम्पनी अनिवार्य रुपमा मूल्य अभिबृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने भएको छ । यसअघि ५० लाख रुपैयाँभन्दा बढिको बार्षिक कारोबार गरेका कम्पनीहरु मात्र अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था रहेकोमा अबका दिनमा कुनै व्यक्तिले वार्षिक १० लाख रुपैयाँभन्दा बढि रकम कुनै बैंकबाट ऋण लिएको पाईएमा अनिवार्य रुपमा भ्याटमा दर्ता हुनपर्ने व्यवस्था गर्न लागिएको हो ।

मूल्य अभिबृद्धि कर नियमावलीको सत्रौ संसोधनले २० लाखभन्दा बढिको कारोबारलाई बढाएर ५० लाख रुपैयाँभन्दा बढिको बार्षिक कारोबार गर्ने फर्म वा कम्पनी अनिवार्य रुपमा भ्याटमा जानु पर्ने व्यवस्था गरेको थियो । तर, सोही संसोधनले १० लाख रुपैयाँभन्दा बढि व्यवसायीक कर्जा लिएका कम्पनी वा फर्म पनि अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुरुप अबका दिनमा भ्याटलाई कडाई गर्दै १० लाख रुपैयाँभन्दा बढि व्यवसायीक कर्जा लिएको पनि भ्याटमा दर्ता हुनुपर्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा ल्याउन लागिएको आन्तरिक राजस्व विभाग स्रोतले जानकारी दिएको छ । ‘सो व्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा ल्याउनका लागि हामीले राष्ट्र बैंकलाई पत्राचार गरिसकेका छौं,’ उक्त स्रोतले भन्यो, ‘राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई सकूर्लर गरेर कार्यान्वयनमा ल्याईनेछ ।’

पछिल्लो समय कुनै एउटा फर्म वा कम्पनी खडा गरी ठूलो मात्रामा व्यवसायीक कर्जा लिने क्रम बढेसँगै विभागले भ्याटलाई कडाई गर्न लागिएको हो । अनावश्यक रुपमा फर्म खडा गरी कुनै पनि व्यक्तिले कर्जाको दुरुपयोग नगरुन भन्ने उद्देश्य अनुरुप १० लाख भन्दा माथिको व्यवसायीक कर्जामा भ्याट अनिवार्य गर्न लागिएको समेत विभाग स्रोतले जानकारी दिएको छ ।

कानुनमै उल्लेख भएको व्यवस्थालाई आगमी दिनमा कार्यान्वयनमा ल्याईने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए । ‘हामीले कानुनको परिपालना गर्ने हो.,’ उनले भने, ‘तसर्थ अबका दिनमा राष्ट्र बैंकले कानुनमा उल्लेख भएका विषयलाई कडाईका साथ लागू गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL