Logo

गभर्नर ज्यू, पहुँचवाला मात्रै हुन जनता ?

गभर्नर ज्यू, पहुँचवाला मात्रै हुन जनता ?



बाणिज्य बैंकहरुले यसै हप्तामात्रै निक्षेपमा दिईने ब्याजको भद्र सहमति तोडेर पुनः ब्याजदर बृद्धि गर्न थालेका छन् । नेपाल बैंकर्स संघले लगाएको भद्र सहमति तोड्दै बाणिज्य बैंकहरुले प्रतिस्पर्धात्मक रुपमा ब्याजदर बृद्धिको सुचना प्रकाशित गर्न थालेका छन् ।

तर, उनीहरुको निक्षेपको ब्याजदरमा तोडेको भद्र सहमतिको असर कर्जा लिने उद्योगी व्यापारी र सम्बद्ध व्यक्तिमाथी पर्न गएको छ । उनीहरुले निक्षेपकको ब्याजदरमा लागू भएको भद्र सहमति तोडको भोलिपल्ट देखि नै ऋणीहरुलाई कर्जाको ब्याजदर बृद्धिको म्यासेज धमाधम पठाउन सुरु गरेका छन् ।

बैंकहरुले बढ्दो ब्याजदरमा मुद्दती निक्षेपमा लिन नपाउँदै यस अघि लगानी गरिएको कर्जाको ब्याजदर उच्च बढाएका छन् । बैंकहरुले पुराना कर्जाको ब्याजदर बढेको म्यासेज पठाउन थालेसँगै व्यवसायी तथा सानालगानीकर्ताहरुले सामाजिक संजालमा आक्रोस पोख्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकले केही समय अघि सार्वजनिक गरेको तथ्याङक अनुसार निक्षेपको भारित औषत ब्याजदर ६ दशमवल ६ प्रतिशत मात्रै रहेको छ । उनीहरुको निक्षेपको ब्याज खर्चलाई तुलना गर्ने हो भने त्यसमा ५ प्रतिशत स्प्रेडदर जोड्दा कर्जामा लिइने ब्याज १२ प्रतिशतभन्दा कम हुनुपर्छ । तर, अहिले बैंकहरुले कृतिम रुपमा सिमित निक्षेपलाई १२/१३ प्रतिशत ब्याज दिँदै त्यसैको आधारमा स्प्रेड जोडेर १६/१७ प्रतिशत ब्याजदरमा कर्जा प्रबाह गर्दै आएका छन् ।

अहिले बैंकको कार्यशैली सोझासाझा जनता र साना लगानीकर्ता भन्दा पनि ठूला र पहुँचवाला व्यक्तिका लागि दुहुनो गाई बन्न पुगेको छ । बैंकहरुले उच्च ब्याजदरको सुचना प्रकाशित गरेपनि पहुँच नपुग्ने र थाहा नहुने साना लगानीकर्ता तथा सोझासाझा जनतालाई ३/४ प्रतिशत ब्याज दिँदै आएका छन् भने त्यस्ता व्यक्तिलाईलाई लगानीकर्ता १६/१७ प्रतिशत ब्याज लगाउँदै आएका छन् ।

तर, ठूला र बैंकसँग पहुँच भएका व्यक्तिले कर्जा लिँदा पनि फाइदा कमाईरहेका छन् । अहिले बैंकहरुले मुद्दती निक्षेपमा ल्याएको उच्च अंकको ब्याजदरमा पैसा राख्नेमा सर्वसाधारण जनता नभई तिनै टाठावाठा र बैंकसँग सिधा पहूँच भएका व्यक्ति हुन्छ । उनीहरुले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याजमा पैसा राख्दै आएका छन् । तर, त्यस्ता व्यक्तिले अहिले पनि १०/११ प्रतिशत ब्याजमा सोही बैंकबाट कर्जा पाइरहेका छन् । सर्वसाधारणलाई १६/१७ प्रतिशत ब्याज पुर्याउदा बैंक संचालक तथा सीईओसँग प्रत्यक्ष सम्बन्ध भएकै कारण त्यस्ता व्यक्तिहरुले निक्षेपमा दिईने ब्याजदरभन्दा कम ब्याजमा कर्जा पाइरहेका छन् ।

पछिल्लो समय बैंकहरुले ५/६ बर्ष पहिले ७/८ प्रतिशत ब्याजमा प्रबाह गरेका कर्जामा पनि धमाधम ब्याज बृद्धि गर्दै १५ प्रतिशतभन्दा माथी पुर्याइसकेका छन् । बैंकहरुले ५/७ बर्ष पहिला नै घरघरमा गएर दिएको कर्जाको पनि अहिले लिएको निक्षेपको तुलनामा ब्याजदर बृद्धि गरेर गैरकानुनी काम गरेको नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिपेन्द्रबहादूर क्षेत्री बताउँछन् । ‘बैंकहरुले त्यतिवेला नगन्य लागतमा उठाएको निक्षेप लगानी गरेर ७/८ प्रतिशत ब्याजदरमा कर्जा प्रबाह गरेका थिए,’ उनले भने, ‘त्यस्तो कर्जामा पनि अहिले लिएको महङ्गोमा उठाएको २/४ करोड निक्षेपलाई देखाएर धमाधम कर्जामा ब्याज बढाइरहेका छन् ।’ जुन एकदमै गलत भएको र त्यसलाई नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने समेत उनको सुझाव थियो ।

पछिल्लो समय बैंक वित्तीय संस्था पहुँचवाला र ठूलो रकम लिएर बसेका व्यक्तिका लागि फलिफाप र साना र सोझासाझा जनताका लागि अभिसाप बन्न पुगेको छ । पछिल्लो समय गाउँगाउँका जनतालाई सस्तो र सहज रुपमा ऋण उपलब्ध गराउनका लागि माईक्रोफाइनान्स खोल्न लाइसेन्स दियो । तर, त्यस्ता माइक्रोफाइनान्सले गाउँका साहु महाजनले दिनेभन्दा बढि ब्याजदरमा गाउँका सोझासीधा जनतालाई लगानी गर्दै आएका छन् । गाउँमा अहिले माइक्रो फाइनान्स प्रदान गर्ने कर्जाको ब्याज २४ प्रतिशतको हाराहारीमा छ । त्यसमा उनहीरुले बर्षको २ पटक सेवा शुल्क लगाउँछन् ।

माइक्रोफाइनान्सले गाउँका जनतालाई ठग्नकै लागि एक पटकमा ६ महिनको लागि कर्जा दिने त्यसलाई पुनः नविकरण गर्दा थप २ प्रतिशत सेवा शुल्क लिँदै आएका छन् । यसरी कर्जा दिँदा उनीहरुले ३० प्रतिशतभन्दा माथी ब्याज लिँदै आएका छन् । अहिले गाउँका साहु महाजनले विना सेवा शुल्क २४ प्रतिशत ब्याजमा बार्षिक रुपमा ऋण दिन्छन् । यसरी तुलना गर्दा गाउँका साहुमहाजनले लिने ब्याजभन्दा लघुवित्तले लिने ब्याज धेरै बढि हुन आउँछ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले आफुले लाईसेन्स दिएका संस्थाको अनुगमन र नियमन गर्न नसक्दा बैंकिङ क्षेत्रमा बिकृति मौलाएको समेत सम्बद्ध सरोकारवालाहरु बताएाछन् । ‘अहिले राष्ट्र बैंकले बैंकलाई नियमन होइन बैंकहरुले चाहिँ राष्ट्र बैंकलाई आफुले भनेको नीति तथा कार्यक्रम ल्याउन बाध्य पारेका छन्,’ उच्च स्रोतले भन्यो, ‘राष्ट्र बैंकको फितलो नियमन र सोही अनुरुपको नेतृत्वका कारण बैंकले सोझासीधा जनतालाई ठगिरहेका छन् ।’ पछिल्लो समय बैंकहरुले आफ्नो नाफामा सामान्य गिरावट आउन लाग्यो कि कर्जामा ब्याज बढाउने क्रम बढेको समेत सम्बद्ध सरोकारवाहरु बताउँछन् ।

केही अघि बैंकको दादागिरी र घटियापनको विषयमा राजन तिवारीले आफ्नो फेसबुकमा स्टाटस लेखेका छन्, ‘ यही तरिका हो भने, गाउँ/गाउँमा बैंक नलग्नु सरकार…गाऊका मान्छे त सार्है सोजा पो छन ।’ बैंकले सबैका लागि मुद्दती बचनमा बढि ब्याज दिने भनी सुचना प्रकाशित गरेपनि पहुँचवालालाई मात्र सो सुविधा दिने र साधारण जनतालाई स्किम सकियो भन्दै फकाईदिने गरेको समेत उनको गुनासो छ ।

साथै बैंकले कर्जा दिन पूर्व विभिन्न बहानामा ऋणीसँग पैसा उठाउने र ऋण दिएको भोलिपल्ट देखि नै कबुल गरेको ब्याजदर पुनः बढाएर ऋणलाई थप भार पारेर दुख दिँदै आएको समेत उनको भोगाई छ । सरकारले सबैको लागि बैंक र गरीबको लागि बैंक भन्ने नारा ल्याएपनि त्यो केबल पहुँचवालाका लागि भएको उनको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL