Logo

लगानीकर्तालाई अर्थमन्त्रीको सुझाव, ‘सेयर बजारमा जोखिम बढि छ, जोखिम मोल्न सक्नेले मात्र लगानी गर्नुस’

लगानीकर्तालाई अर्थमन्त्रीको सुझाव, ‘सेयर बजारमा जोखिम बढि छ, जोखिम मोल्न सक्नेले मात्र लगानी गर्नुस’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा जोखिम रहेको र जोखिम मोल्न सक्नेले मात्र लगानी गर्न सुझाव दिएका छन् । पूँजी बजारमा लहैलहैमा लागेर फस्नुभन्दा सो विषयमा अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेका छन् ।

पूँजी बजारमा लगानी गर्न अहिले म्युचुअल फण्ड आएको जानकारी दिँदै जोखिम लिन नसक्ने लगानीकर्ताहरु सोही म्युचुअल फण्डमार्फत लगानी गर्न आग्रह गरेका छन् । ‘जसले व्यक्तिगत जोखिम मोल्न सक्नुहुन्छ उहाँहरु पूँजी बजारमा लगानी गर्न अग्रसर हुनुस,’ प्रथम पूँजीबजार प्रर्दशनीमा बोल्दै उनले भने, ‘जो पूँजी बजारमा लगानी गरेर जोखिम लिन सक्नुहुन्छ त्यस्ता व्यक्तिहरु म्युचुअल फण्डमार्फत प्रवेश गर्नुस ।’

यसैगरी बजार घटबढ प्रक्रिया स्वभाविक भएको भन्दै सरकारका कारणले बजारमा उचारचढाव नआएको उनले स्पष्ट पारे । ‘बजार बढ्दा चुपलागेर कमाउने अनि घट्दा सरकारलाई गाली गर्ने बानी छाड्नुस,’ उनले भने, ‘बढेको बजारमा तपाईहरुले कमाएको पैसा मलाई दिन पर्दैन र घट्दा धारेहात लगाएर गाली पनि नगर्नुस ।’ बजारमा जोखिम लिनसक्नेले बढेको बेलामा कमाएर घट्दा पनि सोही अनुरुप जोखिम बहन गर्न सक्नुपर्ने उनको तर्क थियो ।

सरकारले बजारमा ठूलो असर पर्ने खालका नीति नियम नल्याउने स्पष्ट पार्दै बजारलाई सामान्य तरिकाबाट चल्न दिने उनको भनाई थियो । ‘सरकारले कुनै पनि लगानीकर्ताको ग्यारेन्टी लिन सक्दैन,’ उनले भने, ‘तर, समस्या पर्दा सहजिकरणको काम भने गर्नेछ ।’ सरकारको काम धितोपत्रको स्वच्छ,, व्यवस्थित र पारदर्शी रुपमा विकास गर्ने हो । यसैगरी, कर सम्बन्धी देखिएका दुविधाहरु सरकारले हटाउने छ । तर, बजारमा सेयरको मूल्य तोक्ने र घटवढ हुँदैन भनेर सरकारले जिम्मा लिन सक्नदैन । यो काम लगानीकर्ताकै भएको उनको तर्क थियो ।

यसैगरी आगामी दिनमा जलविद्युत, संचार, हवाई तथा उत्पादनमुलक क्षेत्रका कम्पनीको सेयर आउन लागेकाले त्यसमा लगानीका लागि तयार भएर बस्न अर्थमन्त्रीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL