Logo

फोरजी विस्तारमा टेलिकमको ‘एग्रेसिभ मुभ’, एक दर्जन ठाउँमा एफटीटीएच पुर्याईंदै

फोरजी विस्तारमा टेलिकमको ‘एग्रेसिभ मुभ’, एक दर्जन ठाउँमा एफटीटीएच पुर्याईंदै



देशैभर एकैपटक फोरजी सेवा विस्तार गर्ने लक्ष्यसहित नेपाल टेलिकम फोरजी एलटीई नेटवर्क बिछ्याउने अन्तिम तयारीमा पुगेको छ । छुट्छाछुट्टै निश्चित ठाउँमा मात्र फोरजी विस्तार गर्नुभन्दा एकैपटक सबै प्रयोगकर्तालाई यस्तो सुविधा उपलब्ध गराउने प्रक्रियामा कम्पनी अघि बढेको हो । एलटीई नेटवर्क विस्तारका लागि कम्पनीले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अनुसार निवेदन दिएका कम्पनीको मूल्याङ्नको अन्तिम चरणमा रहेको कम्पनीका प्रबन्धक निर्देशक कामिनी राजभण्डारीले जानकारी दिईन् । ‘छिटै मूल्याङ्कनको काम पुरा भएपछि नेटवर्क विस्तार तत्काल अघि बढ्छ’ उनले भनिन् ‘नेटवर्क विस्तार भएपछि देशैभरका कम्पनीका ग्राहकलाई फोरजी सेवा उपलब्ध हुन्छ’ ।

नेटवर्क विस्तार भएसँगै ६५ लाख ग्राहकले उच्च गतिको फोरजी सेवा प्राप्त गर्न सक्नेछन् । सरकारले अघि सारेको स्मार्ट सिटी, स्मार्ट होम मात्र नभई जनताको स्मार्ट लाईफ बनाउन पनि यस परियोजनाले सहयोग पुर्याउने उनको दाबी छ । टेलिमकले हरेक प्रदेश तथा स्थानीय तहमा जीएसएम सेवा प्रदान गरेसँगै जनताको शिक्षाको स्तरदेखि स्वास्थ्यमा समेत सुधार ल्याउन सक्ने अपेक्षा गरेको छ । किताब नपुगेका विकट गाउँमा इन्टरनेटबाटै बालबालिकाले शिक्षा लिन सक्ने उनको भनाई थियो ।

घरघरमा एफटीटीएच

फोरजीसँगै कम्पनीले घरमा फाइबर बिछ्याएर उपलब्ध गराउने ब्रोडब्याण्ड इण्टरनेट ‘फाइबर टू दी होम’ विस्तारको कामलाई पनि आक्रामक रुपमा अघि बढाउने तयारी गरिरहेको छ । कम्पनीले जेठको पहिलो हप्ता उपत्यकाका कीर्तिपूर, चाबहिल सहित एक दर्जन ठाउँमा एफटीटीएच सेवा पुर्याउने जनाएको छ । टेलिकमले फाइबर टु विल्डिङको अवधारणालाई पनि अघि बढाएको छ । जसअन्तरगत कुनै हाउजिङ, अपार्टमेन्ट तथा मलहरुमा धेरै टेलिफोन तथा इन्टरेनट लाईन आवश्यक परेमा सोही स्थानमा उपकरण राखेर आधुनिक सेवा प्रदान गर्दै आएको छ ।

थपिदैं डेढ सय बढी बीटीएस

एक करोड जीएसएम लाइन विस्तारको प्रक्रियालाई कम्पनीले थप गति दिएको छ । यसका लागि आवश्यक बीटीएस टावर जडानको काम अघि बढेको राजभण्डारीले जानकारी दिइन् । उनका अनुसार एक करोड लाइन अन्तर्गत काठमाडौं र पोखरामा ४८ लाख लाईन विस्तार भइसकेको छ भने अन्य क्षेत्रमा विस्तार गरिने ५२ लाख लाईनको पुरा हुन केही बाँकी रहेको छ । यसका लागि पूर्वाञ्चलमा ६१ र मध्यपश्चिमाञ्चलमा ५४ वटा टावर राख्ने काम भइरहेको उनले बताइन् । त्यस्तै थप १ सय ५२ वटा टावर राख्नका लागि मूल्याङकन भइरहेको पनि उनले जानकारी दिइन् ।

अब तत्काल बिलिङ

बिलिङ प्रणालीमा यस अघि बारम्बार समस्या देखिएकोमा कम्पनीले हालै मात्र यसलाई तत्काल नै जानकारी दिने गरी ‘रियल टाईम’मा परिणत गरेको छ । यसबाट टेलिकमले प्रदान गर्दै आएको सम्पूर्ण सेवाहरु एउटै विलिङ सिस्टमबाट पनि उपलब्ध हुनेछ । टेलिकमले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्न कस्टुमर रिलेसन म्यानेजमेन्ट पनि संचालनमा ल्याएको छ । यसमार्फत ग्राहकले टेलिकमका सम्पूर्ण सेवाहरु एकद्वार प्रणालीबाट प्राप्त गर्न सक्नेछन् । यस्तै कम्पनीले विलिङ सिस्टमलाई अझै अपग्रड गर्दै १ प्लस ३ को अवधारणामा लैजाने तयारी गरेको छ ।

ल्याइण्डलाइनबाटै टेलिभिजन

टेलिकमले केहि हप्ताअघि मात्र करिब ८ लाखको हाराहारीमा रहेको फिक्स्ड टेलिफोन लाईनालाई प्रिपेड प्रणालीमा ल्याएको छ । यसअघि फोन गरिसकेपछि मासिक पैसा तिर्ने व्यवस्था ‘पोष्टपेड’ हुँदा ग्राहकले अधिक मात्रामा फोन प्रयोग गर्ने र सो फोननै बन्द गरिराख्ने चलन बढेको थियो । जसले गर्दा टेलिकमले करोडौं रुपैयाँ घाटा व्यहोर्दै आएको थियो । तर, रियल टाइममा आएसँगै अबका दिनमा यस्ता भुक्तानी शुन्य नै हुने राजभण्डारी बताउँछिन् । सोही अवधिमा ल्याण्डलाईन लाई आधुनिक प्रविधिमा रुपान्तरण गर्दैै त्यसैबाट डाटा सर्भिस देखि त्यसैबाट भिडियोलगायत अन्य सुविधा प्राप्त गर्न सक्ने पनि उनले जानकारी दिइन् । ल्याण्डलाईनबाटै टेलिभिजनलगायत मल्टीमिडिया सर्भिस प्रदानका लागि द्वूत गतिमा काम भइरहेको पनि कम्पनीले जनाएको छ ।

दुर्गममा सेवा विस्तार गर्दै

गत वर्ष सम्पन्न संघ र प्रदेशको निर्वाचनमा टेलिकमले एकै पटक दश ओटा दुर्गम स्थानमा सेवा पुर्याएर प्रशंसा पायो । देशभरका सबै स्थानमा सेवा पुर्याउने सरकारी लक्ष्य अनुसार टेलिकमले पछिल्लो एकवर्षयता दुर्गम स्थानको सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ । सडक सञ्जालको पहुँच नपुगेका तथा हिंडेर पनि लामो समय लाग्ने विकट क्षेत्रमा टेलिकमले सेवा विस्तार गरिरहेको छ । ‘हाम्रो प्राथमिकता पैसा कमाउनुभन्दा पनि कसरी सकभर देशका सम्पूर्ण जनतालाई सहज र सुलभ तरिकाबाट सेवा प्रदान गर्न गर्नुपर्छ भन्ने हो,’ उनले भनिन् । पछिल्लो पटकट टेलिकमले पर्यटकीय गन्तव्य रारा ताललाई लक्षित गर्दै सो स्थानमा इन्टरनेट सेवा पुर्याएको थियो ।

राजभण्डारीले प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेयता कम्पनीले आर्थिक बर्ष २०७३/७४ मा आफ्नो ग्राहक संख्या १७ दशमलव २३ प्रतिशतले वृद्धि गर्दै १ करोड ७६ लाख पुर्याएको थियो भने माघ मसान्तसम्ममा आईपुग्दा अझै बढेर १ करो ८९ लाख ४३ हजार पुगेको छ ।

प्रभावकारी क्रेडिट सेवा

टेलिकमले गत चैत महिनादेखि फोन गर्दा गर्दै ब्यालेन्स सकिएपनि कुराकानी जारी रहने क्रेडिट सेवा सञ्चालनमा ल्यायो । क्रेडिट बापत विना ब्याज सेवा लिन सकिने कम्पनीको यो नयाँ सुविधा ग्राहकमाझ लोकप्रिय बन्दै गएको छ । यसले ब्यालेन्स सकिएपनि तत्काल रिचार्ज गरिहाल्नुपर्ने बाध्यताबाट सेवाग्राहीले छुट पाएका छन् ।

विस्तार हुँदै चिनियाँ इण्टरनेट

अहिले टेलिकमले चीनबाट १ दशमलव ५ जिबी क्षमताको इन्टरनेट ल्याएको छ । तर, यसलाई अबका दिनमा थप विस्तार गर्दै फाइबरलाई पनि १ प्लस १ मा ल्याइने कम्पनीले जनाएको छ । सोही रुटमा थप अर्को फाइबर विच्छ्याउने गरी कम्पनीले काम अघि बढाइ सकेको छ । यस्तै टेलिकमले केही समयभित्रै भ्वाइस मेल सर्भिस संचालनमा ल्याउने तयारी गरेको छ भने सोही अनुरुप भिडियो अन डिमाण्डलगायत सुविधा ल्याउने तयारी पनि गरेको छ ।

पहिलोपटक समयमै साधारणसभा

नेपाल टेलिकमको इतिहासले राजभण्डारीको नेतृत्वमा पहिलो पटक समयमै साधारणसभा सम्पन्न गरेको छ । सेयरधनीलाई पनि ५५ प्रतिशत लाभांस वितरण गर्न सफल भएको थियो । त्यस्तै विगत १२ बर्षदेखि नभएको आधिकारिक ट्रेड युनियनको निर्वाचन समेत कम्पनीले यसै आर्थिक बर्षमा गराउन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्
MBL