Logo

नेपालमा करको दायरा बाहिर ३ लाख विदेशी कामदार, यसपटकको बजेटले समेट्ने तयारी

नेपालमा करको दायरा बाहिर ३ लाख विदेशी कामदार, यसपटकको बजेटले समेट्ने तयारी



काठमाडौं । नेपालमा आएर काम गर्ने विदेशी कामदारलाई कानुनी दायरामा नल्याउँदा देशले ठूलो मात्रामा राजस्व गुमाउँदै आएको सरोकारवालाहरुले बताएका छन् । हाल नेपालमा ठूलो मात्रामा विदेशी कामदारले काम गरिरहेको भए पनि त्यस्तालाई कानुनी दायरामा नल्याउँदा राजस्व चुहावट भएको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बताए ।

हाल नेपालमा ३ लाखभन्दा बढि विदेशी कामदारले नेपालमा आएर करको दायराभन्दा बाहिर रहेर काम गर्दै आएका उनले जानकारी दिए । ‘हामीले नीतिगत व्यवस्था गरेर कानुनी दायरामा ल्याउन नसक्दा ३ लाखभन्दा बढि विदेशी कामदारले नेपाल सरकारलाई राजस्व छल्दै आएका छन्,’ सरकारले आगामी दिनमा बनाउने बजेटमा सुझाव दिँदै उनले भने, ‘ती कामदारलाई अब आउने बजेटले श्रम स्वीकृति तथा प्यान नम्बर दिएर भएपनि कानुनी दायरामा ल्याउनु पर्छ जसले गर्दा सरकारले राजस्व उठाउन सक्नेछ ।’

सो कार्यक्रममा अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी दिनमा आउने सरकारको नीति तथा कार्यक्रम र बजेटले त्यस्ता क्षेत्रलाई पनि समेट्ने बताएका छन् । ‘हामी करको दर भन्दा पनि दायरा बढाउनेतर्फ बढि केन्द्रित भएका छौं,’ उनले भने, ‘तसर्थ त्यसरी काम गर्दै आएका विदेशी नागरिकलाई पनि कुनै न कुनै उपायबाट करको दायरामा ल्याउने प्रयास हुनेछ ।’

नेपालमा लाखौ विदेशी कामदारले रोजगारी गर्दै आएका पनि गत बर्ष श्रम विभागले जम्मा ५ सय ९२ जनालाई श्रम स्वीकृति प्रदान गरेको थियो । यसैगरी गत आबमा ३ सय ४९ जान विदेशी कामदारको मात्र श्रम स्वीकृति नविकरण भएको थियो । कतिपय कामदारहरुले सोझै कम्पनीको सम्पर्कमा आएर काम गर्ने र मौजुदा व्यवस्था अनुसार भारतीय नागरिकले नेपालमा आएर काम गर्दा श्रम स्वीकृति लिन नपर्ने भएकाले पनि धेरै विदेशी कामदारहरु कानुनी दायरामा नआएका विभागका एक अधिकारीले जानकारी दिए ।

‘नेपालको उद्योग कलकारखाना तथा अन्य असंगठित क्षेत्रमा धेरै विदेशी कामदारहरु रहेको जानकारीमा छ,’ ती अधिकारीले भने, ‘तर, भारतीय कामदारले नेपालमा आएर काम गर्दा श्रम स्वीकृति लिन नपर्ने भएकाले करको दायरामा ल्याउन पनि कठिनाई भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL