Logo

नेप्सेमा चलखेल कि करेक्सन ? घट्दो बजारमा डेढ अर्बको कारोबार

नेप्सेमा चलखेल कि करेक्सन ? घट्दो बजारमा डेढ अर्बको कारोबार



काठमाडौं । पछिल्लो २ हप्तामा नेप्से परिसुचक लगातार बढ्दै करिब ३ सय अंकले बढेकोमा सोमबार (आज) गिरावट आएको छ । बजार खुलेको केही समय दोहोरो अंकले बढेको बजार झण्डै ४० अंकले घट्न पुगेको थियो ।

बजार दिनभर उतारचढाव हुँदै अन्तमा २७ दशमालव ६४ अंकले घट्दै १ हजार ४ सय १० अंकमा झरेर अडिएको छ । अघिल्लो दिनसम्म विना कारण दैनिक ५० अंकसम्म बढेको बजार सोमबार पनि विना कारण सोही अनुरुप घट्न पुगेको छ । सोमबार बजारमा खरिदभन्दा पनि बिक्री चाप बढि देखिएको थियो । पछिल्लो २ हप्ताको बढ्दो बजारमा उच्च नाफा हासिल गरेका लगानीकर्ताले आफ्नो नाफा सुरक्षित गर्दै बजारबाट बाहिरिन थालेपछि बजारमा बिक्री चाप बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सोमबार बजार दिनभर घटाएर च्याखे थाप्ने क्रमको हावी देखिएको छ । केही समय अघिको घट्दो बजारबाट त्रसित बनेका साना लगानीकर्ताले बजारमा सामान्य उचारचढाव हुने वित्तिकै घटेर भएपनि सेयर बेच्ने क्रम आजको बजारमा देखिएको छ । जसले गर्दा बजारमा कारोबार रकम उच्च रुपमा बढ्न पुग्यो भने परिसुचक त्यसको ठिक विपरित आरालो लागेको छ ।

पछिल्लो २ हप्तामै करिब ३ सय अंकले बढेको बजारले करेक्सनको बाटो खोजीरहेको अवस्थामा केही लगानीकर्ताको च्याखे दाउँले बजारमा समस्या थुपार्ने एक लगानीकर्ताले जानकारी दिए । ‘केही समय अघि पनि विना कारण सिमित लगानीकर्ताको स्वार्थमा बजार ह्वात्तै बढाइयो जहाँ साना र सोझा लगानीकर्ताले पत्तै पाएनन्,’ ती लगानीकर्ताले भने, ‘पछिल्ला समय बजारमा साना लगानीकर्ताको प्रवेश पुनः बजार घटाउन थालिएको छ ।’ क्षणिक रुपमा बढेको बजार फेरी साना लगानीकर्ता फस्ने सम्भावना बढि रहेको ती लगानीकर्ताको दावी थियो ।

सोही अनुरुप सोमबार बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा बजारमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ८८ अंकले घटेको छ भने बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २५ दशमलव १६ अंकले घटेको छ ।

यसैगरी, होटल, विकास बैंक, लघुवित्त, जलविद्युत तथा उत्पादनमुलक समुहको परिसुचक पनि उच्च रुपमा ओरालो लागेका छन् । पछिल्लो समयको सबैभन्दा बढि कारोबार हुँदा दिनभर १ सय ७० कम्पनीको ३१ लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भए । जसमा आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बैंकको ९ करोड ५९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीको संस्थापक र साधारण सेयर गरी ९ करोड रुपैयाँभन्दा माथिको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL