Logo

दुई दिन उफ्रिएको साढे फेरी थला पर्यो, परिसूचक र कारोबार रकम दुबै ओरालो

दुई दिन उफ्रिएको साढे फेरी थला पर्यो, परिसूचक र कारोबार रकम दुबै ओरालो



काठमाडौं । अघिल्लो साताको अन्त्यतिर र आइतबार उच्च रुपमा उकालो लागेको नेप्से परिसुचक पुनः ओरालो लाग्न थालेको छ । २/३ दिनमा बजारमा अस्वभाविक रुपमा बढाएर लगानीकर्तालाई आकर्षित गरेपनि अन्तत त्यो बढाई टिकाउन हुन सकेन ।

आईतबार उच्च उतारचढाव हुँदै ४४ अंकले बढेको नेप्से परिसुचक सोमबार पनि सोही अनुरुपको घढटढ हुँदै बजार बन्द हुँदा ६ अंकभन्दा बढिले ओरालो लागेको थियो ।

मंगलबार पनि बजार खुलेको केही मिनेट हरियो भएको बजार अन्तमा घटेको छ । लगानीकर्ताहरु बजार केही बढाउन लागेपनि त्यसले दिगो रुप लिन सकेन । बजारमा अहिले अनावश्यक रुपमा चलखेल गरेर बढाइएको र साधारण लागानीकर्तालाई प्रवेश गराएसँगै घटाउने क्रम सुरु भएको एक लगानीकर्ताले जानकारी दिए ।

पछिल्लो समयको घट्दो बजारलाई क्षणिक रुपमा बढाएर साना लगानीकर्ता फसाउने काम भएको नेपाल इन्भेष्र्स फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरेले बताए । ‘घट्दो बाटो रोजेको नेप्सेलाई काल्पनिक रुपमा बढाएर साना तथा सर्वसाधारण लगानीकर्ता फसाउने काम भएको छ,’ उनले भने, ‘अहिले सेयर बजारमा च्याखे दाउ हाबी भएको छ ।’

सोही अनुरुप आइतबार ५२ अंकसम्म बढेको नेप्से परिसुचक त्यसता लगातार ओरालो लागेको छ । ‘नेप्से परिसुचक भनेकै कारोबार बढाएर लगानीकर्ता आकर्षित गर्ने अनि बाठा लगानीकर्ता बेचर निष्काने ठाउँ हो,’ एक लगानीकर्ताले भने, ‘अहिले बजारमा त्यहि क्रम जारी छ ।’ तसर्थ अघिल्लो २÷३ दिन उफ्रिएको साढे पुनः थला परेको ती लगानीकर्ताको भनाई थियो ।

मंगलबार नेप्से परिसुचकमा १७ दशमलव ५५ अंकले घट्नुका साथै कारोबार रकममा पनि उच्च गिरावट आएको छ । सोमबार ९४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ३५ करोड रुपैयाँमा सिमित भएको छ । जसमा १ सय ६० कम्पनीको ९ लाख ८३ हजार कित्ता सेयर खरिदबिक्री भए ।

बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ९४ दशमलव ६३ अंकले ओरालो लाग्दा बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि १५ अंकले घट्न पुगेको छ । यसैगरी विकास बैंक समुहको परिसुचक करिब १८ अंकले घट्दा माइक्रोफाइनान्स समुहको परिसुचक २६ अंकले घट्न पुगेको छ ।

मंगलबार उत्पादनमुलक समुहमा ७० अंकको गिरावट आउँदा जलविद्युत समुहको परिसुचक ४० अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL