Logo

५० हजार लिएर घर नबनाउने भुकम्प पीडित कालो सूचीमा, अन्य सरकारी सेवाबाट पनि बञ्चित

५० हजार लिएर घर नबनाउने भुकम्प पीडित कालो सूचीमा, अन्य सरकारी सेवाबाट पनि बञ्चित


बिजखबर संवाददाता
0
Shares

राङडोल लामा

काठमाडौँ । सरकारले भुकम्प पछि निजी आवास पुनर्निर्माणका लागि ५० हजार रुपैयाँ लिएर घर नबनाउने भुकम्प पीडितलाई कालो सुचीमा राख्ने भएको छ ।

सरकारले प्राथमिकतामा राखेर पुनर्निर्माणको काम सुरु गरे पनि अधिकांश पीडितहरुले पहिलो किस्ता स्वरुप ५० हजार रुपैयाँ लिएर भुकम्प प्रतिरोधी घर नबनाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । सरकारले निजी आवास बनाउन दिएको रकमले पीडितहरुले निजी आवास नबनाई अनावश्यक खर्च गरेको पाइएकोले आगामी दिनमा त्यस्ता ब्यक्तिहरुलाई कालो सुचीमा राख्ने तयारी भइरहेको प्राधिकरणका सह प्रवक्ता भीष्मकुमार भुसालले बिजखबरलाई बताए ।

उनका अनुसार प्राधिकरणले घर नबनाउने भुकम्प पीडितहरुसँग सरकारले सो रकम फिर्ता लिने देखी कालो सुचीमा राख्ने तथा भविश्यमा पाउने अन्य सुविधाबाट समेत वञ्चित गराउने भएको छ । सरकारले गाउँपालिकाबाट पाउने सेवासुविधा, नागरिकता तथा राहदानी नदिने तथा बैंकमा पनि कालो सुचीमा राख्ने लगायतका कारवाहीको तयारी गरिएको भुसालले जानकारी दिएका छन् ।

घर निर्माण नगर्ने केहीले भने लगेको ५० हजार रुपैयाँ फिर्ता गरेको र प्राधिकरणलाई रकम फिर्ताको भौचर समेत प्राप्त भएको भुसालले बताएका छन । ‘अहिले खासै ठूलो संख्याले फिर्ता नगरे पनि भविश्यमा यो जमात बढने देखिन्छ,’ उनले भने, ‘केहीले अलमल गरेको छ सायद कहाँ लगेर फिर्ता गर्ने भन्ने जानकारी नभएर हुन सक्छ ।’ सेवाग्राहीलाई निजी आवास निर्माणको लागि दिएको रकम दुरुपयोग भए पछि फिर्ता गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ ।

५० हजार रुपैयाँ लिएर घर बनाउन आनाकानी गरिरहेका तथा नबनाउने नियतले बसेका व्यक्तिहरुले सम्बन्धित जिल्ला समन्वय समितिमा गएर बुझन र समितिले दिएको खाता नम्बरमा पैसा फिर्ता गर्न सकिने भुसालले जानकारी दिए । साथै सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयमा गएर बुझन तथा जम्मा गर्न सकिने प्रवक्ता भुसालले बताएका छन ।

भुसालका अनुसार आउँदो असोज सम्मा ७५ प्रतिशत घर निर्माण हुने अनुमान गरिएको छ । सरकारी तथ्याङक अनुसार हालसम्म १ लाख २ हजार २ सय ८९ घरको पुन निर्माण सम्पन्न भएको र पौने ५ लाखले दोस्रो किस्ता लिएको प्रवक्ता भुसालले बताएका छन । बन्दै गरेका घरहरु ३ लाख ४० हजार ८ सय ६६ रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL