Logo

आईएमएस ग्रूपले खरिद गर्यो होटल सेहेन्सा, थप ४० करोड लगानी गर्दै

आईएमएस ग्रूपले खरिद गर्यो होटल सेहेन्सा, थप ४० करोड लगानी गर्दै


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । लामो समयदेखि बन्द रहेको होटल सेहेन्सा आईएमएस ग्रूपले खरिद गरेको छ । रियलस्टेट, सुनचाँदी तथा अटो व्यवसायमा संलग्न उक्त ग्रूपले हाल होटल व्यवसायलाई पनि अघि बढाएको हो ।

उक्त होटल खरिद गरी नयाँ संरचना अनुसार निर्माण कार्य अघि बढाइएको आईएमएस ग्रूपका अध्यक्ष दिपक मलहोत्राले जानकारी दिए । ‘अहिले रिडिजाईन तथा डेकोरेशनको काम भइरहेको छ,’ उनले भने, ‘अबको १ बर्ष भित्रमा संचालनमा ल्याउने छौं ।’

नयाँ संरचनामा निर्माण गर्नका लागि थप ४० करोड रुपैयाँ लगानी हुने समेत उनले जानकारी दिए । ‘अहिले पनि होटलका अन्य संरचनाहरु यथावत नै छन्,’ उनले भने, ‘त्यसमा थप ४० करोड रुपैयाँ लगानी थपेर नयाँ संरचना सहित आकर्षक मोडलमा संचालनमा ल्याउने छौं ।’

आईएमएस ग्रूपको प्रवेशसँगै होटलमा कोठा थप गर्नुका साथै नयाँ सेवा सुविधा थपिने भएको छ । होटलमा विशेष गरी हेल्थ क्लबलाई प्राथमिकता दिइने भएको छ । होटलले बार्षिक सदस्य नै बनाएर क्लवलाई प्राथमिकताका साथ अघि बढाउने मलहोत्राले जानकारी दिए ।

हाल होटलमा १९ ओटा कोठा रहेको छ । त्यसलाई विस्तार गरी ४० ओटा बेडरुम पुर्याइने भएको छ । यसैगरी पाँचतारे स्तरको बैंकेट हल निर्माण गरिने समेत मलहोत्राले जानकारी दिए । ‘हामीले होटलमा रहेको टेनिस हललाई हटाएर बैंकेट हल निर्माण गर्न लागेका छौं,’ उलने भने, ‘जुन आधुनिक र पाँच तारे होटल सरहको सेवा सुविधा हुनेछ ।’ होटलमा दिईने सम्पूर्ण सेवा सुविधा पाँच तारे सरह हुने छ । तर, तत्कालका लागि भने होटलले पाँच तारे प्रमाणपत्र नलिने उनले जानकारी दिए ।

कुल १६ रोपनी जग्गामा रहेको सो होटलमा पार्किङलगायका सुविधा भने बढाइने भएको छ । हाल होटलमा पार्किङका लागि एकदमै सानो ठाउँ रहेकोका त्यसलाई बढाएर कम्तीमा १ सय ५० गाडी पार्किङ गर्न सकिने गरी पार्किङ स्थल निर्माण गरिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL