Logo

पूँजी बजारमा लगानी गर्न नागरिक लगानी कोषले शुरु गर्यो रेमिटान्स संकलन

पूँजी बजारमा लगानी गर्न नागरिक लगानी कोषले शुरु गर्यो रेमिटान्स संकलन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागरिक लगानी कोषले पूँजी बजारमा लगानी गर्नका लागि रेमिटान्स (विप्रेषण) संकलन कार्य शुरु गरेको छ । कोषले सेयर बजारमा स्टक डिलरको काम गर्न वैदेशिक रोजगारीमा गएको कामदारले पठाएको रेमिटान्स संकलन गर्न थालिएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए ।

पोखरेलका अनुसार कोषले हाललाई ‘ओपन इन्डेड म्युचुअल फण्ड) मार्फत रेमिट्यान्स भित्र्याइरहेको छ । तर, नियामक निकाय नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले स्टक डिलरको काम गर्न अनुमति प्रदान गरेसँगै सोही रकमलाई पूँजी बजारमा लगाईने भएको छ ।

हाल कोषले पाइलट प्राजेक्टको रुपमा कोरियाबाट रेमिटान्स संकलनकार्य शुरु गरेको छ । पूँजी बजारको औंजारको रुपमा रहेको म्युचुअल फण्डमा लगानी गर्नेगरी कोषले कोरियाको रोजगारीमा गएका कामदारले पठाएको रेमिटान्स संकलन गर्न थालेको हो । हाल सो कोषमा १ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ । आगामी दिनमा अन्य देशमा गएका कामदारहरुबाट पनि रेमिटान्स संकलन गरिने समेत उनले जानकारी दिए ।

कोषले पूँजी बजारमा लगानी गर्नका लागि ‘सिआईटी युनिट स्किम’ नै ल्याउने भएको छ । विदेशमा रहेका नेपालीले कमाएको पैसालाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नका लागि सो स्किम ल्याउन लागिएको हो । हाल कोषले युनिट स्किम संचालन सम्बन्धी निर्देशिका नै बनाएर नेपाल राष्ट्र बैंक तथा नेपाल स्टक एक्स्चेञ्जसँग छलफल अघि बढाएको छ ।

नेपालमा बार्षिक ६ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्र्ने गरेको छ । तर, सो रकम खानपान र अनुत्पादक क्षेत्रमा खर्च हुँदै आएको छ । नेपालीले पठाएको रेमिट्यान्सलाई पूँजी बजारमा लगानी गरेर देशमा आर्थिक विकास गर्नकै लागि युनिट स्किम ल्याउन लागिएको उनले जानकारी दिए ।

पोखरेलका अनुसार विदेशबाट नेपाली कामदारले पठाएको रेमिट्यान्सलाई कोषले युनिट स्किममा जम्मा गर्ने छ । सोही रकमबाट पूँजी बजारमा लगानी गरिने समेत उनले जानकारी दिए ।

केही समय अघि कोषले पूँजी बजारमा मार्केट मेकर तथा स्टक डिलरको काम गर्नेभन्दै काम अघि बढाएको थियो । स्टक डिलरको काम गर्न २ बर्ष अघि नेपाल स्टक एक्स्चेञ्जमा आवेदन दिएपनि सो विषयमा हालसम्म कुनै टुङ्गो नलागेको पोखरेलले जानकारी दिए । कोषले सेयर बजारमा भइरहने उत्तरचढावलाई न्युनिकरण गर्न सहायक कम्पनीको रुपमा १० अर्ब रुपैयाँको मार्केट मेकर कम्पनी संचालनमा ल्याउने प्रक्रिया अघि बढाएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL