Logo

बजारमा २ बर्ष यताकै न्युन कारोबार, ‘स्ट्रगल’ गर्दै नेप्से, यसो भन्छन् ठूला लगानीकर्ता र विश्लेषक ?

बजारमा २ बर्ष यताकै न्युन कारोबार, ‘स्ट्रगल’ गर्दै नेप्से, यसो भन्छन् ठूला लगानीकर्ता र विश्लेषक ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समययता घट्दो बजारलाई कारोबार रकमले पनि साथ नदिएपछि लागनीकर्ताहरु रुमलिन थालेका छन् । बजार घट्दा पनि कारोबार रकम उच्च बढ्दा उत्साहित भएका लगानीकर्ताहरु बढेको बजारमा झन निरुत्साहित बन्न पुगेका छन् ।

बुधबार बजारमा करिब २ बर्ष यताकै सबैभन्दा न्युन कारोबार भएको छ । करिब २ बर्ष अघि दैनिक कारोबार २ अर्ब रुपैयाँभन्दा बढी पुगेकोमा बुधबार सबैभन्दा न्युन सेयर कारोबार भएको हो । बजारमा कुल १८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएपनि बुधबारको वास्तविक कारोबार रकम भने १६ करोड ८३ लाख रुपैयाँ मात्रै रहेको छ ।

बजारमा परिसुचक पनि नबढ्ने र कारोबार रकम पनि घट्दै गएपछि लगानीकर्ताको मनोविज्ञानमै असर पर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘केही अघिसम्म नेप्से परिसुचक घटेपनि कारोबार रकम नघट्दा लगानीकर्ताहरु उत्साहित भएका थिए,’ एक लगानीकर्ताले भने, ‘तर, कारोबार रकम र साप्ताहिक रुपमा तुलनामा गर्दा परिसुक रकम दुबै ओरालो लागेपछि निरुत्साहित भएका छन् ।’ परिसुचक बढ्दा पनि कारोबार रकममा उच्च गिरावट आउनुले बजारले नकारात्मक संकेत गरेको सम्बद्ध लगानीकर्ताहरुको भनाइ थियो ।

यस अघि चालू आर्थिक बर्षको औषत कारोबार गणना गर्दा दैनिक ६६ करोड रुपैयाँको सेयर खरिदबिक्री भइरहेको थियो । तर, बुधबार त्यसको एक चौथाई रकमको मात्र कारोबार हुन पुग्यो । घट्दो बजारमा यसरी कारोबार रकम पनि ह्वात्तै घट्नुले बजारमा सकारात्मक संकेत नदिएको एक लगानीकर्ताले जानकारी दिए । बजारमा दशै तथा तिहारको समयमा मात्र कम रकमको कारोबार हुने गरेकोमा अहिले अस्वभाविक रुपमा घटेको लिगानीकर्ताहरु बताउँछन् ।

अहिले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् । अहिले सेयरमा दिर्घकालिन लगानी गर्ने लगानीकर्ताहरु चुप लागेका बसेका छन् भने अल्पकालिन लगानी गरेर बजारबाट कमाउन खोज्नेहरु पनि तरलता (लगानी योग्य रकम) अभाव र घट्दो बजारका कारण खुम्चिएर बसेका छन् । साथै पछिल्लो समय बैंकहरुले सामान्य बचतमा पनि उच्च ब्याज दिन थालेकाले सामान्य लगानीकर्ताहरु बजारमा जोखिम लिनभन्दा पनि बैंकमा पैसा राखेर सुरक्षित हुनेतर्फ केन्द्रित भएका उनको तर्क थियो ।
पछिल्लो समय बजार दैनिक रुपमा समान्य घटवढ भइरहे पनि अन्तत घट्ने दिशातर्फ उन्मुख भएको उनको दाबी छ । ‘अहिले साप्ताहिक रुपमा रुपमा हेर्दा ३ दिन उच्च घट्न भने २ दिन बढ्छ,’ उनले भने, ‘यसको अन्तिम परिणाम भनेको बजार घट्नु नै हो ।’ पछिल्लो समय कारोबार रकममा उच्च गिरावट आएका कारण बजार तत्काल नबढ्ने समेत उनको तर्क छ ।

यसैगरी सेयर विश्लेष तथा हाथवे इन्भेष्टमेन्ट नेपालका चिफ इन्भेष्टमेन्ट म्यानेजर प्रकाश तिवारी पनि अहिले बजार पर्ख र हेरको अवस्थामा रहेको र सामान्य हल्लाले पनि बजारमा ठूलो असर गर्ने बताउँछन् । ‘अहिले घट्दो बजारमा एकदमै न्युन कारोबार भएर बसेको छ,’ उनले भने, ‘यो अवस्थामा सरकारको सामान्य निर्णयले पनि बजारमा १÷२ सय अंकको घटवट ल्याउन सक्छ ।’ औषत रुपमा परिसुचकको घट्दो ट्रेड र कारोबार रकममा आएको गिरावटले नेप्सेले आफ्नो दिशा समात्न स्ट्रगल गरिरहेको समेत उनको भनाइ थियो

यसैगरी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल भने घट्दो बजारमा लागनीकर्ताले आफुसँग भएका सेयर होल्ड गरेका कारण बजारमा कारोबार रकम घटेको बताउँछन् । ‘अहिले लगानीकर्ताहरुले बजार बढ्ने आसमा आफुसँग भएको सेयर बचेका छैनन्,’ उनले भने, ‘जसको प्रतिफल बजार कारोबार रकम घट्यो भने परिसुचक सामान्य बढ्न पुगेको छ ।’

साथै आगामी दिनमा सरकारले ल्याउने श्वेतपत्रमा सम्पूर्ण आर्थिक क्षेत्रका साथै सेयर बजारलाई सकारात्मक रुपमा समेट्ने सम्भावना रहेकाले पनि बजारमा केही सकारात्कम हुन सक्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL