Logo

फागुनसम्म कार्यान्वयनमा नगएका योजना रद्द, असारमा भुक्तानी गर्ने प्रथा रोक्न अर्थमन्त्रीको निर्देशन

फागुनसम्म कार्यान्वयनमा नगएका योजना रद्द, असारमा भुक्तानी गर्ने प्रथा रोक्न अर्थमन्त्रीको निर्देशन


बिजखबर संवाददाता
3.3k
Shares

काठमाडौं । अर्थ मन्त्रालयले फागुन मसान्तसम्ममा कार्यान्वयनमा नगएका आयोजनाहरु रद्द गर्ने भएको छ । बजेट वक्तव्यमा समावेश भएका तर सो अवधिसम्म पनि कार्यान्वयनमा नगएका आयोजनाहरु तान्ने तयारी गरेको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

हालसम्म कार्यान्वयनमा नगएका आयोजना तान्ने तथा कार्यान्वयनमा गएका पनि कुन चरणमा छन र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई मन्त्रालयले केही दिनभित्रै जारी गर्ने श्वेतपत्रले सम्बोधन गर्ने उनको भनाई थियो ।

‘सरकारले देशको समग्र अर्थतन्त्रलाई सम्बोधन गर्ने गरी श्वेतपत्र ल्याउँदैछ,’ उनले भने । यस अघिका दिनमा कार्यान्यवनमा नआएका आयोजनाहरुको बजेट तान्ने विषयमा गफमा मात्रै सिमिति भएपनि यसबर्ष भने कार्यान्वयनमै आउने दाबी गरे ।

हाल सरकारलाई बजेट खर्च धान्न मुस्किल परेको र त्यसलाई कार्यान्वयनमा नआएका आयोजना रद्द र राजस्वको आकार बढाएर सम्बोधन गरिने समेत उनको तर्क थियो । ‘अहिले पनि सरकारले लक्ष्य अनुरुप राजस्व उठाइरहेको छ,’ उनले भने, ‘हामीले भन्सार नाका तथा राजस्वलगायत क्षेत्रमा कडाई गर्न निर्देशन दिइसकेका छौं यसले राजस्व उठौतीदर उल्लेख्य मात्रामा बढ्ने छ ।’

चुनावका नाममा यस अघि भन्सार तथा सिमाना नाकामा खुकुलो भएको जानकारी उनले दिए । साथै अबका दिनमा सरकारले नटबोल्ट कस्ने काम गरिरहेको समेत बताए । ‘अब कसैले पनि भन्सार नाकाबाट न्युन बिजकिरण तथा परिमाणमा घटवढ गरेर सामान आयात गर्न सक्ने छैन,’ उनले भने, ‘अहिले व्यवसायीले ५ हजारको माललाई २ सयमा भन्सार मूल्याङ्कन गरेर आयात गर्दै आएका छन् अब त्यो निर्मुल हुनेछ ।’ साथै खतिवडाले एउटा निजी क्षेत्रले अर्को निजी क्षेत्रलाई अप्ठ्यारो पार्ने काम गर्न समेत आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले सरकार वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर देशमा आर्थिक गतिविधि अगाडी बढाइरहेको जानकारी दिए । साथै सोही अनुरुप काम गर्न निर्देशन समेत दिए ।

उनले देशको भुक्तानी प्रणालीलाई पनि चुस्तदुरुस्त पार्न अर्थ सचिवलाई निर्देशन दिएका छन् । ‘मंसिरमा काम सम्पन्न भएका आयोजनाको पनि असारमा भुक्तानी दिने परम्परा बस्दै आएको छ,’ उनले भने, ‘के भएर रोएिको हो त्यसलाई छानविन गरी तुरुन्तै भुक्तानी दिने व्यवस्था गर्नुहोस ।’

यदि कुनै कर्मचारीको खराब आचरणका कारण भुक्तानी रोकिएको खण्डामा तुरुन्त कारबाहीको दायरामा ल्याउन समेत निर्दिष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL