Logo

बजेट बढीभएपछि सिङ्गापुरले नागरिकलाई बोनस बाड्ने

बजेट बढीभएपछि सिङ्गापुरले नागरिकलाई बोनस बाड्ने


बिजखबर संवाददाता
18.8k
Shares

दैनिक प्रशासन सञ्चालन गर्न पनि आर्थिक बर्ष सुरु भएको केहि महिनामै अधिकतम आन्तरिक ऋण उठाइसकेको र बजेट घाटा व्यहोर्नुपरेको नियतिमा नेपाली अर्थतन्त्र छ । संघीय संरचना कार्यान्वयनमा आइसकेपछि अर्थतन्त्र धान्न मुस्किल पर्ने विचार बाहिर आइरहेका छन् । नेपालको चुनौतीपूर्ण अर्थतन्त्रको विपरित सिङ्गापुर भने बजेट नै बढी(सरप्लस) भएपछि उक्त रकम आफ्ना नागरिकलाई बोनसको रुपमा वितरण गर्ने तयारीमा छ ।

सिङ्गापुरका अर्थमन्त्री हेङ स्वि किटले सोमबार संसदमा बजेट सार्वजनिक कार्यक्रममा यस्तो घोषणा गरेका हुुन् । उनले यो घोषणालाई ‘होङबाओ’ नाम दिएका छन् । सिङ्गापुरमा प्रचलित मन्दारिन भाषामा कुनै विशेष अवसरमा उपलब्ध गराइने आर्थिक उपहारलाई होङबाओ भनिन्छ ।

घोषणा अनुसार सिङ्गापुरका २१ ब्र्षभन्दा माथिका नागरिकले यस्तो बोनस प्राप्त गर्नेछन् । सिङ्गापुरका अर्थमन्त्रीले करिब ७ खर्ब ६० अर्ब रुपैयाँले बजेट सरप्लस भएपछि बोनसको कार्यक्रम सार्वजनिक गरेका हुन् । नागरिकले बढीमा तीन सय सिङ्गापुर डलरसम्म बोनस प्राप्त गर्नेछन् । ‘सिङ्गापुरको विकासको उपलब्धी नागरिकलाई नै उपलब्ध गराउने सरकारको दीर्घकालीन प्रतिबद्धताको चित्र हो यो’ अर्थमन्त्री किटले भने ।

बोनस बापत सिङ्गापुर सरकारले ५३ अर्ब रुपियाँ खर्च गर्नेछ । बोनस नागरिकको आम्दानी अनुसार फरक हुनेछ । सन् २०१८ को अन्त्यसम्म २७ लाख नागरिकले यो प्राप्त गर्नेछन् ।

सरकारले आम्दानी अनुसार बोनसको वर्गिकरण पनि गरेको छ । नियम अनुसार २८ हजार सिङ्गापुर डलरभन्दा कम आम्दानी हुने नागरिकले तीन सय डलर, २८ हजारदेखि एक लाख डलरसम्म आम्दानी हुनेले दुई सय डलर र एकलाख डलरभन्दा बढी आम्दानी हुनेले १ सय डलर बोनस पाउनेछन् ।

सिङगापुरको सन् २०१७ को संसोधित बजेट अनुसार ९ अर्ब ६१ करोड डलर बजेट सरप्लसमा छ । यसरी बढी भएको बजेटको ५ अर्ब डलर सिङगापुरमा थप रेल लाइन विस्तारमा पनि लगानी गरिने अर्थमन्त्रीले जनाएका छन् । अर्को दुई अर्ब डलर जेष्ठ तथा फरक क्षमताका नागरिकको बिमा तथा सेवा सुविधाका लागि स्थापना गरिएको एल्डरसिल्ड र अन्य सेवा सुविधामा प्रयोग हुनेछ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL