Logo

दुई बर्षमा सक्नुपर्ने कामको ४ बर्ष समय थप, कहिले बन्ला मुग्लिन–नारायणगढ सडक ?

दुई बर्षमा सक्नुपर्ने कामको ४ बर्ष समय थप, कहिले बन्ला मुग्लिन–नारायणगढ सडक ?


बिजखबर संवाददाता
0
Shares

काम शुरु गरेको २ बर्षभित्र सकिसक्नु पर्ने गरी ठेक्का लगाएको मुग्लिन– नारायणगढ सडक खण्डको ४ बर्ष समय थप्नुपर्ने भएको छ । तोकिएको समयमा निर्माणकार्य सम्पन्न नभएको भन्दै यस अघि १ बर्ष समय थप गरेकोमा अब ३ बर्ष समय थप्नुपर्ने माग सहित ठेकेदार कम्पनीले प्रस्ताव ल्याएको छ ।

गत बर्ष थप गरेको समय सकिनै लाग्दा उक्त सडकखण्ड विस्तारका लागि ठेकेदार कम्पनीले खण्डितरुपमा ३ बर्षको समय थप माग गरेको हो निर्माण सम्पन्न गर्नुपर्ने मितिमा काम नसकिएपछि तीन पटक गरेर यस अघि १० महिना म्याद थप गरिएको थियो ।

तीन खण्डमा विभाजन गरी ठेक्का दिइएको उक्त सडक खण्डको तेस्रो पटक थपिएको मिति पहिलो खण्डको बुधबार म्याद सकिएको छ, भने अन्य दुई खण्डको यही फागुन ८ गते सकिँदैछ । तर, हालसम्म ७४ प्रतिशत काम मात्रै सकिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेकाअनुसार तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम–रौताहा जेभीले १२ दशमलव १ किलोमिटर सडक विस्तार गर्न थप समय माग गरेको हो । सो कम्पनीले यसअघि नै १० महिना थप समय पाइसकेको छ ।

कम्पनीले भूकम्पका कारण काम हुननसकेको भन्दै ८ दिन, मौसम खराब भएकाले १ सय ९६ दिन, तराई बन्दका कारण ४४ दिन, इन्धन अभावका कारण ४९ दिन, पहिरोले सडक अवरोध गरेका कारण ६० दिन, पूरा दिन काम गर्न नपाएको भन्दै ४३८ दिन, सडकमा सवारी जामका कारण १७ दिन, निर्वाचनका कारण ३० दिन र चाडपर्वका कारण ४९ दिन समय माग गरेको छ ।

त्यसैगरी पुलका कारण १० दिन, माघे संक्रान्तिको तीन दिन, बिजुलीको पोल समयमा नहटेका कारण ७७ दिन, जलबिरेमा सडक साँघुरो भएको भन्दै १९ दिन तथा काम थपिएको भन्दै १ सय ९ दिन माग गरिएको घिमिरेले बताए ।

यसैगरी दोस्रो खण्ड निर्माणको जिम्मा लिएको उड हिल–लामा जेभीले १० दशमलव ७ किलोमिटर सडक निर्माण गर्न ३ सय ३६ दिन थप समय माग गरेको छ भने पहिलो खण्ड निर्माण जिम्मा लिएको बिएलए–श्रेष्ठ जेभीले १० दशमलव ४ किलोमिटर सडक विस्तार गर्न थप ६ सय ८४ दिन समय माग गरेको छ ।

आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले १ हजार ४९ दिन समय माग गर्ने तेस्रो खण्डलाई ९९ दिन, ३ सय ३६ दिन मागेको दोस्रो खण्डलाई ८९ दिन र ६ सय ८४ दिन थप समय मागेको पहिलो खण्डलाई ८५ दिन उपयुक्त भएको भन्दै प्रस्ताव गरिएको बताए । पहिलो खण्डका लागि १० मे २०१८, दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय थप गर्न सिफारिस गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले समय थपको सिफारिस विभागमा पठाइएको बताए । उपयुक्त कारण रहेका र काम गर्न नसकिएको समयलाई मात्रै समय थपको सिफारिस गरिएको उनको भनाइ थियो । तर, हालसम्म विभागले समय थपको निर्णय गरिसकेको छैन ।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात बढी भएका कारण समय थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षातको समय, चाडपर्वको समय र थपिएको कामका कारण काम गर्ने समय थप्न लागिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL