Logo

माथिल्लो तामाकोशीको ९४ प्रतिशत काम सम्पन्न, लागत बढ्दै

माथिल्लो तामाकोशीको ९४ प्रतिशत काम सम्पन्न, लागत बढ्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । दोलखाको लामा बगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको सो आयोजनाको ९४ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए ।

उनकाअनुसार हाल आयोजनाको सुरुङ बलियो बनाउने काम भइरहेको छ । त्यस्तै आयोजनाको सबैभन्दा जटिल मानिएको २ वटा ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’को काम समेत शुरु भइसकेको उनले बताए । ‘आयोजनाको सबैभन्दा गाह्रो काम भनेकै ३ सय १० र ३ सय ७० मिटर लामो ठाडो सुरुङ निर्माण गर्नु हो,’ उनले भने, ‘ठाडो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको भौतिक निर्माण करिव ९६ प्रतिशत पुग्छ ।’

यसैबीच आयोजनाले हालै २ अर्ब ६३ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने घोषणा गरेको छ । आयोजना प्रभावित र सर्वसाधारणका लागि चैतको पहिलो हप्ता आइपिओ जारी गर्न लागेको हो । जसअनुसार पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण सेयर बिक्रीगर्ने छ ।

आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण सेयर बिक्री गर्ने छ । स्थानीय बासिन्दाले १ अर्ब ५ करोड ९० लाख रुपैयाँ अर्थात १ करोड ५ लाख ९० हजार कित्ता साधारण सेयर पाउने व्यवस्था गरिएको छ ।

यस्तै, आयोजनाले नेपाली जनतालाई कूल पूँजीको १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री गर्ने छ ।

सुरुमा सो आयोजनाको कूललागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । पछि लागत संशोधन गरी ४० अर्ब रुपैयाँपुर्याइए पनि भूकम्प, नाकाबन्दीको असर र अमेरिकी डलरमा आएको उतारचढावका कारण लागत करिब ६० अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।

६० अर्ब रुपैयाँ पुगे पनि प्रति मेगावाट लागतका हिसाबले करिब १३ करोड रुपैयाँ हुनेछ । यो आयोजना रनअफ रिभरमा आधारित छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL