Logo

हात्ती आयो फुस्सा……., १४ खर्बको लगानीको वाचा, सम्झौता भने ‘शून्य’

हात्ती आयो फुस्सा……., १४ खर्बको लगानीको वाचा, सम्झौता भने ‘शून्य’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विदेशी लगानी भित्र्याउने लक्ष्यसहित गत बर्षको फागुन १९ र २० गते आयोजना गरिएको लगानी सम्मेलनको ११ महिना पुरा भइसक्दा पनि अहिलेसम्म कुनै सम्झौता हुन सकेको छैन । सम्मेलनमार्फत १३ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएपनि कुनै ठोस नतिजा नेपालले प्राप्त गर्न सकेको छैन ।

सम्मेलनमा विदेशका १६ ओटा विभिन्न कम्पनीले कृषिदेखि उद्योग तथा जलविद्युत क्षेत्रमा लगानीको प्रतिबद्धता व्यक्त गरेका थिए । आश्चर्यजनक रुपमै प्राप्त लगानी प्रतिबद्धता देशले आर्थिक विकासमा निकै ठूलो फड्को मार्ने अपेक्षा गरिएको थियो ।

लगानी सम्मेलनमार्फत आएको प्रतिबद्धताको हालसम्म कुनै पनि सम्झौता नभएको लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले जानकारी दिए । ‘बोर्डले १० अर्ब रुपैयाँभन्दा माथीका आयोजना सम्झौता तथा कार्यान्वयन गर्ने हो,’ उनले भने, ‘तर, लगानी सम्मेलनमार्फत आएको प्रतिवद्धताको हालसम्म त्यस्ताखालका कुनै पनि सम्झौता भएको छैन ।’ अधिकारीका अनुसार सम्मेलनमा भएको प्रतिबद्धता कार्यान्वयनमा नआएपनि देशमा अन्य वैदेशिक लगानी भने उल्लेख्य रुपमा भित्रिएको छ । ‘सम्मेलनमार्फत प्रतिबद्धता आएका लगानीमध्ये हालसम्म त्यस्ता कुनै पनि परियोजना कार्यान्वयनमा आएका छैनन,’ उनले भने, ‘तर, सम्मेलनकै कारण पछिल्लो समय देशमा भित्रने बैदेशिक लगानीको फ्लो बढी छ ।’

१० अर्ब रुपैयाँभन्दा माथीका आयोजनाका लागि लगानी बोर्डले स्वीकृति दिँदै आएको छ भने सोभन्दा कम र पाँच अर्ब रुपैयाँभन्दा माथीका औद्योगिक प्रबद्र्धन बोर्डले स्विकृत गर्छ । पाँच अर्ब तलका लगानीको स्विकृती उद्योग विभागबाट हुने गर्छ ।
लगानी सम्मेलनमार्फत आएको प्रतिबद्धतामध्ये औद्योगिक प्रबद्र्धन बोर्डले कुनै पनि आयोजनलाई स्विकृति नदिएको उद्योग सचिव यमकुमारी खतिवडाले बताइन । ‘लगानी सम्मेलनमार्फत प्रतिवद्धता आएका आयोजनामध्ये कुनै पनि लगानीकर्ताले बोर्डमा लगानीका लागि स्विकृति लिन आएका छैनन्,’ उनले भनिन् ।

लगानी सम्मेलनमार्फत प्रतिवद्धता प्राप्त रकम मध्ये कुनै पनि रकम ल्याउन सरकारले पहल गरेको छैन भने प्रतिबद्धता जनाउने लगानीकर्ताले पनि चासो देखाएका छैनन् । लगानी सम्मेलनमार्फत प्रतिबद्धता जनाउने विदेशी लगानीकर्ताले त्यसपश्चात नेपालमा लगानी गर्न चासो नै नदेखाएको सम्बद्ध स्रोतको भनाइ छ ।

सम्मेलनका क्रममा सबैभन्दा बढी चिनियाँ कम्पनीले नेपालमा लगानी गर्न चासो देखाएका थिए । चिनियाँ कम्पनीले जलविद्युत, अस्पताल र काठमाडौं मेट्रो रेल, विमानस्थल, हाइवे र सुरुङ निर्माणमा तथा जलविद्युतमा लगानी गर्न प्रतिवद्धता जाहेर गरेको थियो । यसैगरी जापान तथा वेलायतका कम्पनीले पनि उर्जा, पूर्वाधार विकास तथा खाद्यान्न उद्योगमा लगानी गर्न प्रतिवद्धता जनाएको थियो भने भारतीय कम्पनीले भने बैंक, सोलार तथा स्टिलमा लगानी गर्ने बताएको थियो ।

तर उनीहरुले चासो देखाएअनुसारको नेपाल सरकारसँग आयोजना नै नभएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी बताउँछन् । ‘लगानी सम्मेलनमार्फत ठूला आयोजनाका लागि लगानीको प्रतिवद्धता आएको तर त्यस्ता आयोजना तयार नै भएको छैन,’ उनले भने, ‘साथै सम्मेलनमार्फत भएको लगानी प्रतिवद्धतालाई भित्र्याउन नेपाल सरकारले पनि सोही अनुरुप पहल गर्न सकेको छैन ।’

सम्मेलनमार्फत दिर्घकालिन र ठूला आयोजनामा प्रतिबद्धता भित्रिएको हुँदा त्यसलाई कार्यान्वयमा ल्याउन पनि लामै समय लाग्ने उनले जानकारी दिए । सम्मेलनमार्फत निजगढ विमानस्थल, काठमाडौंमा मेट्रोरेल, रासायनिक मल, फुड प्रोसेसिङजस्ता ठूला आयोजनका लागि प्रतिबद्धता आएको थियो । जसमध्ये रासायनि मल उत्पादनका लागि केही प्रक्रिया अघि बढ्पनि पछिल्लो समय रोकिएर बसेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL