Logo

प्राधिकरण र सेजबीच टकराव, भैरहवा सेजका उद्योगले अझै २ बर्ष विद्युत नपाउने

प्राधिकरण र सेजबीच टकराव, भैरहवा सेजका उद्योगले अझै २ बर्ष विद्युत नपाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भैरहवा सेजले सव स्टेसन नबनाउँदा त्यहाँका उद्योगले दुई बर्षमा पनि विद्युत नपाउने भएका छन् । विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)सम्म आगामी चैत्रभित्रमा विद्युत पुर्याउने लक्ष्य लिएपनि सव स्टेसन निर्माणको काम अघि नबढ्दा विद्युत नपाउने भएको हो ।

सेजमा स्थापना हुने उद्योगलाई विद्युत दिनका लागि सेजले बनाउनु पर्ने ३३/११ केभीको सव स्टेसन (१० एमभीए) निर्माणको प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन । जसले गर्दा प्राधिकरणले भैरहवा सेजसम्म विद्युत् पुर्याए पनि सव स्टेसन नहुँदा त्यहाँ स्थापना हुने उद्योगले विद्युत भने पाउने सम्भावना टरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको कार्यक्षेत्र (स्कोप) सेजसम्म विद्युत पुर्याउनका लागि प्राधिकरणले ट्रान्समिसन लाइन निर्माण मात्रै गर्ने छ । तर, सव स्टेसन बनाएर उद्योगलाई विद्युत वितरण गर्ने काम भैरहवा सेजको स्कोपभित्र पर्छ । भैरहवा सेजले सव स्टेसन बनाउने र ११ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत दिनुपर्नेमा सेज स्थापना भएको २ बर्षसम्म पनि टेण्डरसमेत गरेको छैन ।

प्राधिकरणले अहिले निर्माण गरिरहेको सव स्टेसनको अनुभव हेर्दा टेण्डर गरी ठेकेदार नियुक्त गर्न कम्तीमा पनि ६ महिना लाग्ने प्राधिकरणले जानकारी दिएको छ । त्यसपछि सामान अडर गरी ठेकेदारलाई काम सक्ने छिटोमा १५ देखि १८ महिना लाग्छ । सेजले तत्कालै काम शुरु गरेपनि उद्योगले २ बर्षभन्दा अघि विद्युत पाउने सम्भावना नगरेको प्राधिकरणको दाबी छ ।

विद्युत प्राधिकरणलाई दोषी देखाएर सेज व्यवस्थापन आफ्नो मुख्य जिम्मेवारीबाट भाग्न खोजिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘त्यहाँ खोलिने उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत दिइसकेका छौं, त्यसैले निर्माणका काम गर्न कुनै समस्या छैन,’ उनले भने, ‘चैत्रभित्रमा हाम्रो स्कोपभित्रको प्रसारण लाइन बनाएर त्यहाँ विद्युत पुर्याउँछौं ।’ तर, सेज व्यवस्थापनले सव स्टेसन बनाई आफ्नो जिम्मेवारीबाट पन्छदै प्राधिकरणलाई दोष लगाईरहेको उनको आरोप थियो ।

हाल सेजमा रहेको ३३ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत सेजलाई विद्युत दिन क्षमताले नथेग्ने भएपछि प्राधिकरणले छुट्टै प्रसारण लाइन बनाउन लागेको हो । प्राधिकरणले तिलोत्तमा नगरपालिकाको जोईकुटी सवस्टेसनदेखि सेजसम्म छुट्टै ३३ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरिरहेको छ । जोइकुटी–भरौलिया खण्डमा वन क्षेत्र भएर प्रसारण लाइन लैजानु पर्ने भएकाले वनको कारणले काम अवरुद्ध भएको छ ।

भरौलिया–दगदही खण्डमा प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरेका छन् । अवरोध हटाएर काम सुचारु गराउन उद्योग, वन मन्त्रालय, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा लगायत सरोकारबीच छलफल भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘अवरोध हटाएर जसरी पनि चैतसम्ममा सेजमा विद्युत पुर्याउने छौं,’ उनले भने, ‘सेजमा उद्योग स्थापना गर्न सम्झौता गरेका कम्पनीलाई हाम्रोतर्फबाट कुनै समस्या हुँदैन ।’

सेजमा उद्योग खोल्न सम्झौता गरेका १९ कम्पनीलेसमेत विद्युत नभएको भन्दै काम नै गरेका छैनन् । तर, उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत भने ११ केभी लाईनमार्पत उपलब्ध गराइएको प्राधिकरणले प्रष्ट पारेको छ ।

तर, सेज विकास समितिका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट भने प्राधिकरणको दाहोरो निर्णयका कारण समस्या परेको बताउँछन् । ‘पहिला प्राधिकरणले सेजलाई ११ केभीए प्रशारणलाईनबाट विजुली दिने भएको थियो,’ उनले भने, ‘तर, अहिले ३३ केभीएबाट दिएर सेजलाई सव स्टेशन बनाउन दबाब दिइरहेको छ ।’

प्राधिकरणले ११ केभीएबाट विजुली नदिएमा तत्कालका लागि छुट्टै फिडर राखेर उद्योगलाई बिद्युत दिने समेत उनले जानकारी दिए । केही समयभित्रै सव स्टेशन बनाउनका लागि टेण्डर आब्हान गरिने समेत उनले जानकारी दिए । साथै प्राधिकरणको दोहोरो कुराका कारण उद्योगीले बिजुली नपाउने भएको समेत उनको आरोप थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL