Logo

साञ्जेन र रसुवागढीको सेयर निष्काशनको समय पछि धकेलियो, किन हुँदैछ ढिलाई ?

साञ्जेन र रसुवागढीको सेयर निष्काशनको समय पछि धकेलियो, किन हुँदैछ ढिलाई ?


बिजखबर संवाददाता
0
Shares

– रमेश लम्साल

काठमाडौं । साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाले सर्वसाधारलाई सेयर निष्काशन गर्ने समय पछि धकेलिएको छ । कम्पनी रजिस्ट्रार कार्यालयमा कागजात बुझाउन र अद्यावधिक गर्न थप समय लागेका कारण साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी जलविद्युत कम्पनीको साधारण शेयर (आइपिओ) बिक्री गर्ने समय १ महिना पछि धकेलिएको हो ।

कम्पनीको सम्पूर्ण आर्थिक विवरण र सेयर संरचनाका बारेमा कम्पनी रजिष्टार कार्यालयलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको र सोही प्रावधान पुर्याउन केही समय लागेका कारण बिक्रीको समय सरेको हो । सेयर जारी गर्नु पहिले सम्बन्धित कम्पनीले आह्वान पत्रसमेत जारी गर्नुपर्ने हुन्छ । ती सबै व्यवस्था गर्नका लागि थप समय लाग्ने भएकाले साधारण सेयर जारी गर्नका लागि थप केही समय आवश्यक पर्ने देखिएको ती जलविद्युत कम्पनीले जानकारी दिएका छन् ।

रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख माधव कोइरालाका अनुसार कम्पनी रजिस्ट्रार कार्यालयलाई केही कागजात बुझाइएको र केही कागजात बुझाउन अझै बाँकी रहेको बताए । ‘हामीले पछि मात्रै बोर्डबाट अनुमति पाएका हौं, कम्पनी रजिस्ट्रार र बोर्डले थप केही कागजात मागेको छ, त्यो हामी बुझाउँदै छौं,’ उनले भने ।

कम्पनीको सम्पन्न साधारणसभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरिएको छ भने धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई आवश्यक कागजात बुझाइएको उनले जानकारी दिए । साथै फागुनको पहिलो साता आइपिओ जारी हुने समेत उनले बताए । यस्तै नियमानुसार आइपिओ जारी गर्नु भन्दा २१ दिन पहिले आह्वानपत्र सार्वजनिक गर्नुपर्ने भएकाले त्यसलाई समेत व्यवस्थापन गर्न समय लागेको उनले जानकारी दिए ।

रसुवागढी हाइड्रोको साधारण सेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता आइपिओ जारी गर्न लागेको छ । रसुवागढीले पहिलो चरणको साधारण सेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी झण्डै १ अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्नेछ ।

कूल १३ अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।

यसैगरी साञ्जेनलाई पनि कम्पनीको आह्वानपत्र र कम्पनीको संरचनाका बारेमा कम्पनी रजिस्ट्रार कार्यालयलाई जानकारी गराउन समय लागेका कारण सेयर निष्काशन गर्न ढिलाई भएको कम्पनीका प्रमुख किरण श्रेष्ठले जानकारी दिए । । साञ्जेन जलविद्युत कम्पनीलाई २ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । साञ्जेनको बिक्री प्रबन्धकमा नागरिक लगानी रहेको छ ।

दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई २ दुई अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड ५१ लाख ८१ हजार कित्ता आइपिओ बिक्री गर्ने तयारी गरेको छ ।

धितोपत्र बोर्डले साञ्जेनलाई गत मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको थियो ।

साञ्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत ७ अर्ब बढी रहेको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL