Logo

नेपालको बाह्य क्षेत्र असन्तुलन, विदेशी विनिमय सञ्चितिको भरमा अर्थतन्त्र

नेपालको बाह्य क्षेत्र असन्तुलन, विदेशी विनिमय सञ्चितिको भरमा अर्थतन्त्र


बिजखबर संवाददाता
297
Shares

काठमाडौं । घट्दो रेमिटेन्सका कारण नेपालको बाह्य क्षेत्रमा असन्तुलन देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक बर्षको पहिलो ५ महिनाको तथ्याङ्कले उक्त कुरा देखाएको हो ।

सो अवधिमा विप्रेषण आप्रवाह शुन्य दशमलव ८ प्रतिशतले ह्रास आई २ खर्ब ८५ अर्ब ४८ करोड मात्र भित्रिएको छ । तर, गत आवको सोही बधिमा यस्तो बृद्धिदर ६ प्रतिशत रहेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा गिरावट आएका कारण देशमा भित्र्ने विप्रेषणमा गिरावट आएको राष्ट्र बैंकले जानकारी दिएको छ । तथ्याङ्क अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २ दशमलव ५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ८ शदमलव ९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।

देशमा भित्र्ने रेमिटेन्स आप्रबाहमा गिरावट आएका कारण देशको बाह्य क्षेत्रमा असर परेको नेपाला राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘अहिले देशको शोधनान्तर बचत, चालू खाता जस्ता क्षेत्रमा ठूलो असर गरेको छ,’ उनले भने, ‘जसले गर्दा नेपालको बाह्य क्षेत्रसँगको असन्तुलन बिग्रीएको छ ।’ यद्यपी नेपालको विदेशी विनिमय सञ्चितीमा राम्रो भएका कारण केही सहज अबस्था रहेको उनको भनाइ छ ।

समीक्षा अबधिमा चालू खाता ४१ अर्ब ९५ करोड रुपैयाँले घाटामा रहेको छ । तर, गत आबको सोही अबधिमा ३ अर्ब ४९ करोडले बचतमा रहेको थियो । यसैगरी सोधनान्तर बचतमा पनि उच्च गिरावट आएको छ । गत आबको पहिलो ५ महिनामा २८ अर्ब ७८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ९ अर्ब २७ करोड रुपैयाँले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ८६ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ११ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब १५ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।

सोही अबधिसम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति भने सामान्य बढेको छ । २०७४ असार मसान्तमा १० खर्ब ७९ अर्ब ५२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ मंसिर मसान्तसम्म आइपुग्दा शुन्य ६ प्रतिशतले वृद्धि भई १० खर्ब ८५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तमा ९ खर्ब २७ अर्ब २७ करोड रुपैयाँ रहेकोमा २०७४ मंसिर मसान्तमा १ शदमलव २ प्रतिशतले वृद्धि भई ९ खर्ब ३८ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

विदेशी विनिमय सञ्चितिले १२ दशमलव ८ महिनाको वस्तु आयात र ११ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL