Logo

तोडियो भारतीय एकाधिकार, आजदेखि नेपालमा चिनीयाँ इन्टरनेट

तोडियो भारतीय एकाधिकार, आजदेखि नेपालमा चिनीयाँ इन्टरनेट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल–चीन क्रसबोर्डर अप्टिकल फाइबर लिंक शुक्रबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा नेपाल जोडिएसँगै आजदेखि इन्टरनेटमा भारतीय एकाधिकार तोडिएकोे हो ।

शुक्रबार एक कार्यक्रमवीच सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ‘लिंक क्लिक’ गरेर शुभारम्भ गरे । कार्यक्रममा मन्त्री बस्नेतले
नेपाल टेलिकम र चाइना टेलिकमको यो काम प्रशंनीय भएको बताए ।

त्यस्तै सो अवसरमा चीनबाट जोडिने सञ्जाल भारतीयभन्दा निकै छोटो रहेको टेलिकमका प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् । साथै दूरी छोटो भएकै कारण इन्टरनेट सेवा सस्तो हुनुका साथै स्तरीय हुने बताइन् । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत यू होङले दुई देशबीचको सम्बन्ध दिनप्रतिदिन बलियो हुँदै गएको बताइन् । साथै यो ‘कनेक्टिभीटी’ले त्यसलाई थप बढावा दिने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा चाइना टेलिकमका सिनियर रिप्रिजेन्टेटिभ वाङ योङलिनले नेपाल चाइनाको यो बहुप्रतिक्षित फाइबर लिंकको शुरुवात भएकोमा खुशि व्यक्त गरे । साथै यो लिंक सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद समेत व्यक्त गरे ।
नेपालले भारको बाटो हुँदैमात्र इन्टरनेट ल्याइरहेको अवस्थामा पहिलेदेखिनै पहल भएको देखिन्छ । जसअनुसार सन् २००३ को डिसेम्बर ३ मा नेपाल सरकार र चिनीयाँ सरकारबीच आर्थिक तथा प्राविधिक सम्झौताअनुसार अरनिको राजमार्गअन्तर्गत काठमाडौंदेखि खासा झाम्सुङसम्म १५५ किलोमिटर अप्टिकल फाइबर विछ्याउने कार्य २००८ अगष्टमा सम्पन्न भएको थियो ।

त्यस्तै २०११ डिसेम्बर २६ मा नेपाल टेलिकम र तत्कालीन चाइना टेलिकम्युनिकेसन कर्पोरेसनवीच झाङमु तातोपानीवीच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्ने सम्बन्धी समझादारीपत्रमा हस्ताक्षर भएको थियो ।

त्यस्तै २०१३ डिसेम्बरमा वैकल्पिक रुटको रुपमा नेपाल चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना नेपाल केबुल ट्रान्समिसन सिष्टम निर्माण र मर्मतसम्बन्धी नेपाल चाइना टेलिकम्युनिकेसन कर्पोरेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

त्यसपछि २०१५ को अप्रिल २५ भुकम्पले काठमाडौं तातोपानी रुट क्षतिग्रस्त भएको थियो । काठमाडौं रसुवागढी रुटका लागि आवश्यक एडिएसएस लिंक निर्माण सम्बन्धी कार्य अगाडी बढेको थियो । त्यस्तै २०१६ मा नेपाल टेलिकम र चाइना टेलिकमले अप्टिकल फाइबर कनेक्टिभीटीको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको हो ।

सन् २०१६ डिसेम्बरमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटिजी) बीच रसुवाको जिलोङ गेटवेहुँदै चीन र नेपाललाई स्थलीय केबुलमार्गमा जोड्नेबारे सम्झौता भएको थियो । सोही सम्झौताअनुसार दुवैतर्फको अप्टिकल फाइबर एक–अर्कामा जोडिएका हुन् । चीनतर्फको नेटवर्क केरुङ, ल्हासा हुँदै हङकङ जोडिएको हो ।

बिचमा रसुवागढी र केरुङको बीचमा पहिरो गएपछि विच्छेद भएको फाइबर पुनस्थापित गर्न समय लागेकाले संचालमा ल्याउन ढिलाई भएको थियो ।

हिउँले पुरिएर चीनतर्फको भागमा अप्टिकल भाँचिएको थियो । सोही रुटबाट ब्यान्डवीथ पठाउँदा अवरोध हुने तथा व्यवसायिक रुपले आदान प्रदान गर्न अप्ठेरो पर्ने भएकोले रिस्टोर गरेर मात्र पठाउने भन्दै चाइना टेलिकमले नेपाल टेलिकमलाई जानकारी गराएको थियो ।

हिउँले प्रभाबित क्षेत्रबाट आउने अप्टिकललाई चीनले रि रुट गरेको हो । टेलिकमले काठमाडौंको सुन्धारा हुँदै धादिङको गल्छीदेखि रसुवासम्म ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL