Logo

बजार बढ्दा पनि किन हुँदैछन् लगानीकर्ता निरास !

बजार बढ्दा पनि किन हुँदैछन् लगानीकर्ता निरास !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक हरियाली देखिएपनि लगानीकर्ताहरु भने निरास नै भएका छन् । बिहीबार बजार खुलेदेखि नै सामान्य घटवढ भइरहेको नेप्से परिसुचक अन्तमा ७ दशमलब २२ अंकले बढ्न पुग्यो ।

बजार सामान्य रुपमा उकालो लागे पनि कारोबार रकममा दैनिक ओरालो लागेपछि लगानीकर्ताहरु निरास भएका छन् । ‘पहिला बजार घट्दा पनि कारोबार रकम बढ्दा लगानीकर्तामा केही आशा पलाउथ्यो,’ एक लगानीकर्ता भने, ‘तर, पछिल्लो समय नेप्से परिसुचकका साथै कारोबार रकममा समेत गिरावट आएपछि लगानीकर्ता निरास भएका छन् ।’

मंगलबारको तुलनामा बुधबार कारोबार रकममा गिरावट आउँदै कुल कारोबार ४४ करोड रुपैयाँमा सिमित भएको थियो । तर, बिहीबार कुल कारोबार साढे ५३ करोड रुपैयाँ देखिएपनि वास्तविक कारोबार रकम भने खुम्चिएर ३७ करोड रुपैयाँमा झरेको छ । बजारमा भएको कुल ५३ करोड ५० लाख रुपैयाँको कारोबारमध्ये १६ करोड रुपैयाँ संस्थापकको म्याचिङ सेयरको रहेको छ ।

बैंक वित्तीय संस्थामा भएको लगानी योग्य रकमको अभाव (क्रेडिट क्रञ्च), बढ्दो ब्याजदरजस्ता कारणले गर्दा कारोबार रकम घट्न पुगेको एक लगानीकर्ताले बताए । ‘अहिले बजारमा थप लगानीका लागि दिन बैंकसँग पैसा नै छैन,’ ती लगानीकर्ताले भने, ‘बैंक वित्तीय संस्थाले कर्जा दिन छाडेपछि बजारमा कारोबार कसरी बड्छ ?’

अघिल्लो दिन २० अंकभन्दा बढीले ओरालो लागेको सेयर बजार बिहीबार बढ्न पुगेको थियो । तर, कारोबार रकममा लगातार गिरावट आउँदा लगानीकर्ताहरु थप निरास भएका हुन् ।

बिहीबार बीमा समुहको परिसुचक सबैभन्दा बढी १८ दशमलब २७ अंकले उकालो लागेको छ । त्यस्तै अन्य १५ दशमलब ९१, उत्पादन ११ दशमलब १८, माइक्रोफाइनान्स ८ दशमलब २८ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ६ दशमलब ३५ अंकले उकालो लागेको हो । त्यसैगरी जलविद्युत र फाइनान्स समुहको परिसुचक क्रमशः ४ दशमलब १३ र १ दशमलब ८७ अंकले बढेको छ । यता विकास बैंक, होटल र ट्रेडिङ समुहको परिसुचक भने क्रमशः ७ दशमलब ४१, ६ दशमलब ६४ र २ दशमलब ८७ अंकले ओरालो लागेको छ ।

बजारमा कुल १ सय ५९ कम्पनीको १३ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL