Logo

‘सिआईटी युनिट स्किम’ ल्याउँदै लगानी कोष, रेमिट्यान्सलाई पूँजीबजारमा लगानी गरिने

‘सिआईटी युनिट स्किम’ ल्याउँदै लगानी कोष, रेमिट्यान्सलाई पूँजीबजारमा लगानी गरिने


बिजखबर संवाददाता
4.4k
Shares

काठमाडौं । नागरिक लगानी कोषले रेमिट्यान्सलाई पूँजी बजारमा लगानी गर्न ‘सिआईटी युनिट स्किम’ ल्याउने भएको छ । विदेशमा रहेका नेपालीले कमाएको पैसालाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नका लागि सो स्किम ल्याउन लागिएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । ‘हामीले युनिट स्किम संचालन सम्बन्धी निर्देशिका नै बनाएर नेपाल राष्ट्र बैंक तथा नेपाल स्टक एक्स्चेञ्जसँग छलफल अघि बढाएका छौं,’ उनले भने, ‘अहिले दुबै पक्षसँग सकारात्मक छलफल भइरहेको र केही दिनभित्रै टुङ्गो लगाएर कार्यान्वयनमा ल्याउने छौं ।’

नेपालमा बार्षिक ६ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्र्ने गरेको छ । तर, सो रकम खानपान र अनुत्पादक क्षेत्रमा खर्च हुँदै आएको छ । नेपालीले पठाएको रेमिट्यान्सलाई पूँजी बजारमा लगानी गरेर देशमा आर्थिक विकास गर्नकै लागि युनिट स्किम ल्याउन लागिएको उनले जानकारी दिए ।

पोखरेलका अनुसार विदेशबाट नेपाली कामदारले पठाएको रेमिट्यान्सलाई कोषले युनिट स्किममा जम्मा गर्ने छ । सोही रकमबाट पूँजी बजारमा लगानी गरिने समेत उनले जानकारी दिए । जसबाट रेमिट्यान्स पठाउने व्यक्तिले पनि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर प्रतिफल पाउनुका साथै नेपालको पूँजी बजारको समेत विकास हुने उनको दाबी छ ।

यस अघि कोषले पूँजी बजारमा विदेशीको लगानी भित्र्याउन मिल्ने गरी आफ्नो ऐन परिमार्जन अघि बढाएको थियो । धितोपत्र बोर्डले सेयर बजारमा गैर आवासीय नेपाली एनआरएनलाई लगानी गर्न खुला गर्न कार्यविधी तयार गरेको र उद्योग मन्त्रालयले पनि विदेशी लगानी तथा प्रविधि हस्तान्तर ऐनमार्फत विदेशी कम्पनी तथा एनआरएनलाई सेयर बजारमा लगानी खुला गरेकाले कोष पनि सोही अनुरुप अघि बढेको पोखरेलले बताए । ‘कोषमार्फत वैदेशिक रोजगारीमा गएका नेपाली कामदार तथा गैर आवासीय नेपालीको लगानी भित्र्याउन मिल्नेगरी मौजुदा ऐनमा परिमार्जन गरिएको छ,’ उनले भने । एने २०४७ सालमा बनेको र त्यस पश्चात कोषको काम कारवाही तथा पूँजी बजारमा धेरै उत्तरचढाव आएकाले समयसापेक्ष परिमार्जन गरी मस्यौदा तयार पारिएको उनले जानकारी दिए ।

कोषले शुरुमा युनिट स्किममार्फत नेपाली कामदारले पठाएको रेट्यिान्सलाई संकलन गरेर पूँजी बजारमा लगानी गर्नेछ । सो योजना सफल भएसँगै गैर आवसीय नेपालीको लगानीलाई समेत पूँजी बजारमा प्रवेश गराईने उनले जानकारी दिए । ‘हाम्रो मुख्य लक्ष्य भनेको बाहिर रहेको स्रोतलाई संकलन गरेर ठूलो मात्रामा पूँजी बजारमा लगानी गर्ने हो,’ उनले भने, ‘जसले गर्दा नेपालको पूँजी बजारको विकास भई देशले आर्थिक रुपमा फड्को मार्नेछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL