Logo

तामाकोशी सहित ४ जलविद्युत आयोजनाले साधारण सेयर जारी गर्दै, कसको कति ?

तामाकोशी सहित ४ जलविद्युत आयोजनाले साधारण सेयर जारी गर्दै, कसको कति ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली लगानीमा निर्माण भइरहेका चार जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्ने भएका छन् । नेपाली लगानीका माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि सेयर जारी गर्न लागेका हुन् ।

यी कम्पनीले साधारण सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदनको आधारमा साञ्जेन जलविद्युत् आयोजनाले ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

उक्त कम्पनीले माथिल्लो साञ्जेन र साञ्जेन गरी दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको कूल क्षमता ५७.३ मेगावाट रहेको छ । सो कम्पनीको साधारण शेयर नागरिक लगानी कोषमार्फत बिक्री गरिनेछ ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि आगामी एक महिनाभित्र साधारण सेयर जारी गर्ने तयारी गरेको छ । कूल १ सय ११ मेगावाट क्षमताको सो आयोजनाले साधारण सेयर जारी गर्ने प्रयोजनका लागि धितोपत्र बोर्डमा गत वैशाख १३ गते नै आवेदन दिइसकेको छ ।

आयोजनाका प्रमुख माधव कोइरालाकाअनुसार साधारण सेयर जारी गर्ने प्रक्रिया अन्तिमचरणमा पुगेको छ । पहिलोचरणमा बिक्री गर्न लागिएको सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीले खरिद गर्न पाउने छन् ।

सेयर संरचनाअनुसार कोषका ५ लाख सञ्चयकर्ता लागि साढे १९ प्रतिशत, प्राधिकरणका लागि साढे ३ प्रतिशत र सञ्चयकोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर बिक्री गर्नेछ । पहिलो चरणमा १ अर्ब ६४ करोड २१ लाख ४० हजार बराबरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर निष्काशन गर्ने भएको छ ।

यस्तै आयोजना प्रभावित रसुवालीका लागि १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत सेयर बिक्री गर्ने गरी तयारी गरिएको छ । कम्पनीले सिद्धार्थ क्यापिटल, एनआइबिएल, ग्लोबल आइएमइ र एनसिएम मर्चेन्ट बैंकिङमार्फत साधारण सेयर बिक्री गर्नेछ ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पनि आगामी माघको पहिलो साता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । आयोजनाले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ ।

कूल ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माणको काम ९२ प्रतिशत सम्पन्न भएको छ । आगामी आइतबार सुरुङसमेत ‘ब्रेक थ्रु’ भएपछि आयोजनाको भौतिक प्रगति ९४ प्रतिशतको हाराहारीमा पुग्ने छ ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीमध्ये भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले पनि २ अर्ब ९४ करोड बराबरको साधारण सेयर जारी गर्ने तयारीलाई अन्तिमचरणमा पुर्याएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ अर्ब १७ करोड रुपैयाँ बराबरको एक करोड १७ लाख कित्ता सेयर, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि रु ६ करोड बराबरको ६ लाख कित्ता शेयर जारी गर्ने तयारी गरिएको छ ।

दोस्रोचरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका लागि रु ६० करोड बराबरको साठी लाख कित्ता साधारण सेयर जारी गर्ने छ ÷रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL