Logo

मेलम्चीको बाँकी पाइप बिच्छ्याउने काम छठ लगत्तै, पुसभित्रै सकिने

मेलम्चीको बाँकी पाइप बिच्छ्याउने काम छठ लगत्तै, पुसभित्रै सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी पाइप बिच्छ्याउने काम छठ लगत्तै शुरु गरिने भएको छ । हालसम्म ९० प्रतिशत पाइप विच्छ्याउने काम सम्पन्न भएको र बाँकी १० प्रतिशत आगामी २ महिनाभित्र सम्पन्न गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यन्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

उनका अनुसार छठ लगत्तै बाँकी स्थानमा पाइप बिच्छ्याउने काम शुरु गरिने छ । ‘बाँकी स्थानमा पाइप विच्छ्याउने काम शुरु गरिहाल्छौं,’ उनले भने, ‘पुससम्ममा काम सक्ने लक्ष्य छ ।’ मेलम्ची खानोपानी वितरणका लागि कुल ७ सय ३० किलोमिटर पाइपलाइन विच्छ्याउनुपर्नेमा हालसम्म ६ सय ६० मात्र पुरा भएको छ । ६० किलोमिटरमा अझै पाइप विच्छ्याउन बाँकी भएको जानकारी उनले दिए । ‘बर्षा र चाडपर्वले काम ढिलाई भएको हो,’ उनले भने, ‘अब तिव्र रुपमा पाइप विच्छ्याउने काम हुन्छ ।’

खत्रीका अनुसार बानेश्वर माइतिघर हुँदै जावलाखेलसम्म खन्ने काम बाँकी छ । छठ लगत्तै बानेश्वर, माइतिघर, जावलाखेलसम्म ४ किलोमिटर खन्ने र बाँकी पाइप विच्छ्याउने काम पनि शुरु गर्ने उनले बताए ।

गत असोजसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याइने भनेपनि पाइप विच्छ्याउने तथा टनेलको काम नसकिएकोले पानी आउन सकेको छैन । मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भएसंगै दैनिक १७ करोड लिटर पानी काठमाडौं भित्रने छ ।

यसैगरी लार्के र याङ्ग्री नदीबाट २०२१ सम्ममा ३४ करोड लिटर पानी काठमाडौं भित्रइने भएको छ । उपत्यकामा अहिले दैनिक ३८ करोड लिटर पानी आवश्यक छ । त्यसमा १२ करोड मात्र आपूर्ति हुँदै आएको छ ।

बर्षतको समयमा भने दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको काठमाडौं खानेपानी लिमिटेडले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL