Logo

विदेशी कामदारको न्युनतम ज्याला तोक्दै कतार सरकार

विदेशी कामदारको न्युनतम ज्याला तोक्दै कतार सरकार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कतार सरकारले विदेशी कामदारको न्युनतम ज्याला निर्धारण गर्ने भएको छ । केही समयभित्रै बस्ने कतारको मन्त्रिपरिषद्ले श्रम सम्बन्धी कानुनमा सुधार गर्दै विदेशी कामदारको न्युनतम निर्धारण गर्ने कतारका श्रम मन्त्री इसा अल नुआईमीले समाचार मध्यमलाई जानकारी दिएका छन् ।

सो ऐनमा कामदारको सुरक्षा तथा बीमा सम्बन्धी व्यवस्थालाई पनि समेटिने भएको छ । विशेष गरी कामदारको एक तहको बसोबासको स्तर र खानका लागि पुग्ने गरी न्युनतम ज्याला निर्धारण गरिने उनले अलजजिरालाई जानकारी दिएका छन् । कतारको यस निर्णयले नेपाल, भारत तथा बंगलादेशबाट कतारको रोजगारीमा जाने कामदारका लागि थप राहत मिल्ने छ ।

सन् २०२२ मा विश्वकप फुटबल खेलको आयोजना गर्न लागेको कतारमा श्रमिकहरुको अधिकारको विषयलाई लिएर अन्तरराष्ट्रिय अधिकारबादी संस्थाहरुले निरन्तर निगरानी बढाउँदै आएको छ । कतारको पछिल्लो यो घोषणा अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को बैठक हुनुभन्दा एक दिन अघि आएको हो । केही समय अघि आइएलओले कतारलाई आप्रवासी कामदारको शोषण अन्त्य गर्न चेतावनी दिएको थियो ।

कतारले डिसेम्बर २०१६ मा ‘कफाला’ जस्ता परम्परागत कडा श्रम नियम अन्त्य गर्ने घोषणा गरेको थिया । अवका दिनमा अन्तरराष्ट्रिय ट्रेड युनियन महासंघले प्रस्ताव गरे अनुसारको कतार सरकारले श्रम ऐन ल्याएमा सवै कामदारलाई समान ज्यालाका साथै बीचमा रोजगारी छाड्न चाहने कामदारलाई सम्बन्धित रोजगारदाता कम्पनीले रोक्न पाउनेछैन ।

यसैगरी कतारको केन्द्रिय सरकारले नै करार अनुसारको काम भए/नभएको अनुगमन गर्ने छ भने कामदारहरुको समिति गठन गर्दै गुनासो सम्बोधनको समेत व्यवस्था गरिनेछ ।

हाल कतारमा झण्डै २० लाखको हाराहारीमा आप्रवासी कामदारहरु रहेका छन् । जसमध्ये अधिकांश कामदार एशियाली मुलुकबाट निर्माण क्षेत्रका काममा गएका छन् । कतार सरकारले नयाँ कानुन पारित गरेर कार्यान्वयनमा ल्याएसँगै त्यस्ता कामदारलाई ठूलो राहत मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL