Logo

ठेकदार कम्पनीको लापरबाही बढ्यो, ३ महिनामा ३२ कम्पनी कालो सूचीमा

ठेकदार कम्पनीको लापरबाही बढ्यो, ३ महिनामा ३२ कम्पनी कालो सूचीमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय ठेकेदार कम्पनीको लापरबाही बढेको छ । ठेकेदार कम्पनीहरुले काम बीचमै छाडेर भाग्ने तथा टेण्डर परेपछि पनि सम्झौता गर्न नआउने क्रम बढेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ ।

चालू आर्थिक बर्षको पहिलो ३ महिनामा ३२ वटा कम्पनी कालो सूूचीमा परेका सार्वजनिक खरिद अनुगमक कार्यालयका सचिव विनोद केसीले बताए । ‘पछिल्लो समय ठेकेदार कम्पनीको लापरबाही बढेको छ,’ उनले भने, ‘सोही अनुरुप हामीले अनुगमन गरेर कारवाही प्रक्रिया अघि बढाएका हौं ।’

उनका अनुसार कालोसुचिमा पर्नेमा सबैभन्दा बढी कन्स्ट्रक्सन कम्पनी रहेका छन् भने दोस्रोमा सप्लायर्स रहेका छन् । ती कम्पनीहरुलाई न्युनतम १ बर्षदेखि ३ बर्षसम्म कालो सूचिमा राखिएको छ । ठेक्का प्रक्रियामा सामेल भई ठेक्का पाएर पनि सम्झौता गर्न नआएका कम्पनीलाई ३ बर्षसम्मका लागि कालो सूचिमा राखिएको केसीले जानकारी दिए । ‘ठेक्का प्रक्रियामा सामेल भई ठेक्का पाएपछि पनि सम्झौता गर्न नआउनु सबैभन्दा ठूलो अपराध हो, उनले भने, ‘तसर्थ त्यस्ता कम्पनीलाई नियम अनुसार नै ३ बर्षका लागि कालो सूचिमा राखेका हौं ।’

यसैगरी सम्झौता गरेर काम शुरु गरेपछि पनि ६० प्रतिशतभन्दा काम गरेर छाडेका कम्पनीलाई २ बर्षका लागि कालो सूचिमा राखिएको छ भने ६० प्रतिशतभन्दा बढी काम गरेर छाडेका कम्पनीलाई १ बर्षका लागि कालो सूचिमा राखिएको केसीले जानकारी दिए ।

ठेकेदार कम्पनीको लापरबाही बढेसँगै कार्यालयले पनि सोही अनुरुप अनुगमन बढाएको हो । ‘हामीले ठेकेदार कम्पनीको अनुगमनलाई द्वुत गतिमा बढाएका छौं,’ उनले भने, ‘आगामी दिनमा अझ बढी ठेकेदार कम्पनीलाई कानुनी दायरामा ल्याउनेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL