Logo

चाडबाडमा उपभोक्ता तान्न सुपरमार्केटबीच उपहार योजनाको होड, कुनमा कति छुट ?

चाडबाडमा उपभोक्ता तान्न सुपरमार्केटबीच उपहार योजनाको होड, कुनमा कति छुट ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय नेपालमा सुपर मार्केट तथा डिपार्टमेन्टल स्टोर खोल्नेको होड नै चलेको छ । सुपरमार्केट धाउने उपभोक्ताको चाप दिनदिनै बढेपछि व्यवसायीहरुबीच नयाँ सुपरमार्केट खोल्ने वा हाल सञ्चालनमा रहेकालाई विस्तार गर्ने प्रतिश्पर्धा चलेको हो ।

सबै प्रकारका सामान एकै ठाउँमा पाइने भएकोले पनि उपभोक्ताहरु यसतर्फ आकर्षित भएका हुन् । त्यसो त उपभोक्ता तान्नका लागि बर्षभरी केही न केही छुट तथा उपहार योजना सञ्चालन गर्दै आएका छन् । त्यसमा पनि दशैं तथा तिहारमा भने सुपरमार्केटहरुले विभिन्न आकर्षक योजना तथा छुट सञ्चालनमा ल्याउने गरेका छन् ।

यसैक्रममा यसपटक पनि सुपरमार्केटहरुले विभिन्न उपभोक्ता लक्षित योजना सञ्चालनमा ल्याएका छन् ।

भाटभटेनी सुपर मार्केटले बडा दशैं, शुभ दिपावली तथा छठका लागि विभिन्न सामग्रीमा छुटको व्यवस्था गरेको छ । जसअनुसार इलेक्ट्रोनिक्स तथा लगेज, व्यागहरुमा १५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । त्यस्तै किचेन वेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता, चप्पल र कस्मेटिकसमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । भाटभटेनीले सम्पूर्ण ग्रोसरीहरुमा ५ प्रतिशत छुट दिने भएको छ ।

त्यस्तै बिगर्माटले दशैंका लागि उपभोक्तामाझ विशेष योजना सार्वजनिक गरेको छ । विगमार्टका मार्केटिङ तथा व्राण्ड म्यानेजर अन्तिम रञ्जितका अनुसार ५० जनालाई १ महिना ‘सपिङ फ्रि योजना ल्याएको छ । जसअनुसार १ महिनाभरी विगमार्टमा किनमेल गर्नेमध्ये ५० जनालाई ११ हजार रुपैयाँ सम्मको किनमेल निशुल्क गरिने छ । योजना १६ तारिक देखि अक्टोवर २ सम्म लागु हुने उनले बताए ।

त्यस्तै ‘बडा दशैं विशेष योजना’ अन्तर्गत १ सय ५० ओटा भन्दा बढी उपभोग्य सामानमा विशेष छुटको व्यवस्था गरिएको छ । जसमा पेप्सी, एरियल, गेडागुडी, चामललगायत वस्तु बजार मूल्य भन्दा कममा बिक्री गर्दै आएको छ । त्यसैगरी सनराइज बैंकको डेविट कार्डबाट विगमार्टमा सपिङ गरेको अवस्थामा अतिरिक्त ८ प्रतिशत छुट दिने पाइने छ । कम्पनीको हाल उपत्यकाभर २८ ओटा स्टोर सञ्चालनमा छन् ।
त्यसैगरी सेलवेजले पनि दशै तिहारलाई लक्षित गर्दै विभिन्न छुट योजना ससञ्चालनमा ल्याएको छ । योजना अन्तर्गत घरायसी तथा किचनको सामग्रीमा ५ प्रतिशत छुट छ । त्यस्तै विद्युतीय सामग्रीमा १० प्रतिशतको छुट उपलब्ध गराइएको सेलवेजको महाराजगञ्ज ब्राञ्चका म्यानेजर ज्ञान घलेले बताए । त्यस्तै ४० ओटा सामग्रीमा विशेष छुट प्रदान गरिएको छ । ५ हजार रुपैयाँभन्दा बढीको सामान खरिदमा विशेष उपहार समेत प्रदान गरिने उनले जानकारी दिए । सेलवेजको हाल उपत्यकामा ५ र धरानमा १ ओटा गरी ६ ओटा शाखा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL