Logo

असन अनि इन्द्रचोक : जहाँको सपिङ्ले दशैं भित्र्याउँछ

असन अनि इन्द्रचोक : जहाँको सपिङ्ले दशैं भित्र्याउँछ


रक्षा रेग्मी
0
Shares

काठमाडौं । सामान किन्न असन, इन्द्रचोक नगए त दशैं आएको जस्तै लाग्दैन’ त्रिपुरेश्वर घर भएकी ७५ बर्षिय मनुमाया मर्हजन भन्छिन् । भक्तपुर माइती भएकी उनले आफुले बुझ्ने भएदेखि नै दशैंमा किनमेल गर्न इन्द्रचोक आउने गरेको उनले बताइन् । ‘सानै देखि इन्द्रचोक आएर लुगा किनेपछि दशैं आएको जस्तो लाग्थ्यो,’ अहिलेसम्म त्यस्तै बानी छ,’ उनले सुनाइन् ।

अरु बेलामा उनलाई छोराछोरी नातीनातिनीले नै कपडा खानेकुरा ल्याइदिन्छन् । अघिपछिका समयमा सामान किन्न परे पनि नजिकैको वल्र्ड ट्रेड सेन्टरमा जाने गर्छिन् । तर दशैंमा भने आफ्नो उमेरका साथी बटुलेर असन नपुगी उनलाई चित्तै बुझ्दैन ।

त्यस्तै जमलमा भेटिएकी रामकोटकी ३० बर्षिय मेलिना गौतमको दुबै हातमा नयाँ कपडा तथा खानेकुराका प्लाष्टिक थियो । छोराछोरीरसँग किनमेलमा आएकी उनले घरमा सबैजनाका लागि कपडा र दशैंका लागि दाल, मसलालगायत किनेको सुनाइन । अरुबेलामा घर वरिपरि वा सितापाइलामा किनमेल गरेपनि चाडवाडमा भने असन, इन्द्रचोक नै आउने उनले बताइन् ।

त्यस्तै प्रायः दरबारमार्ग, न्यूरोड वा सपिङ मलहरुमा कपडा किन्न रुचाउने गोंगबुकी प्रज्ञाश्री पनि कलेजका साथीहरुसँग कपडा छान्दै गरेको अवस्थामा भोटाहिटीमा भेटिइन् । उनी दशैं तथा तिहारमा मात्र असन, इन्द्रचोकमा कपडा किन्न आउने बताउँछिन् । त्यसो त उनको हजुरआमालाई पनि त्यही ‘सपिङ’ गर्न मनपर्ने उनी सुनाउछिन् । ‘हजुरआमा सस्तो र एकै ठाउँमा धेरै सामान पाइने भएकोले असन नै जानुपर्छ भन्नुहुन्छ’ उनले भनिन् ।

मनुमाया, मेलिना र प्रज्ञाश्री त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्ता धेरै उपभोक्ताले यतिबेला असन इन्द्रचोक व्यस्त छ । कपडा, भाँडाकुडा, खाद्यन्नलगायत सबै सामान एकै ठाउँमा पाइने भएकोले पनि बुढादेखि केटाकेटीसम्मको यहीँ किनमेल गर्न आउने गरेका छन् । त्यस्तै उपत्यकाबासीले त दशैंको किनमेल भन्ने वित्तिकै असन, इन्द्रचोकनै सम्झाने गर्छन् ।

त्यसैगरी उपत्यका बाहिरका मानिसहरु पनि दशैंमा असनमै सामान खरिद गर्न आउने गरेका छन् । अन्य ठाउँमा भन्दा सस्तो र धेरै ‘भेराइटी’ पाइने भएकोले चाडवाडमा भिड हुने गरेको छ ।

सो स्थानमा चुरा, पोते, कपडा देखि दाल, चामलगायत सामग्री उपलब्ध छन् । त्यस्तै पूजा सामग्रीसँगै लेकाली जिम्बु, बिरेनुन, सिधेनुन, तोरी, सस्र्यूं, कालो तील, टिम्बुरलगायतका जडीबुटी चाहिए असनको विकल्प नभएको स्थानीय व्यापारीले बताए । परम्परागत हाकुुपटासी, लवेदा सुरुवाल, जर्सीकोट, स्वेटरलगायतका कपडा एकै ठाउँमा पाइन्छ ।

चडवाडमा असन, इन्द्रचोकसँगै खिचापोखरी तथा भोटाहिटीमा पनि उपभोक्ताको बाक्लो उपस्थिती हुने गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL