Logo

चीनबाट पेट्रोल र ग्यास आयात गर्दै नेशनल ट्रेडिङ

चीनबाट पेट्रोल र ग्यास आयात गर्दै नेशनल ट्रेडिङ


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेशनल ट्रेडिङले चीनबाट पेट्रोल र ग्याँस आयात गर्ने भएको छ । चीनबाट पेट्रोलियम पदार्थ ल्याउन नेपाल सरकार र चीनबीच भएको सहमति अनुरुप नेशनल ट्रेडिङले पेट्रोलियम ढुवानी गर्न लागेको हो ।

पुरानो संरचना खारेज गर्दै नयाँ संरचना अनुरुप पेट्रोलियम आयात गर्न लागिएको नेशनल ट्रेडिङका महाप्रबन्धक लबराज जोशीले बिजखबरलाई बताए । हाल नेशनल ट्रेडिङले आफ्ना सम्पूर्ण कर्मचारीलाई स्वेच्छिक अवकाश अन्तरगत उपदान दिएर हटाइसकेको छ । कुल २ सय ६४ जना कर्मचारीले १ अर्ब ६६ करोड रुपैयाँ लिएर स्वेच्छिक अवकास अन्तरगत जागिर छोडेका छन् ।

जोशीका अनुसार नेशनल ट्रेडिङले आफ्नो भावी योजना तयार गर्दै चीनबाट पेट्रोलियम तथा ग्याँस आयात प्रक्रिया अघि बढाउन लागिएको हो । ‘हामीले नेशनल ट्रेडिङको भावी योजना अन्तगरगत चीनबाट पेट्रेलियम ढुवानी, हाल भइरहेको व्यापारलाई निरन्तरता तथा निर्यात कम्पनीको रुपमा काम गर्नेजस्ता विषय समेटेका छौं,’ उनले भने, ‘हाल नेशनल ट्रेडिङको भावी योजना तयार भइसकेको र केही समयभित्र स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउनेछौं ।’ नेशनल ट्रेडिङले सरकारलाई नेशनल ट्रेडिङको भावी योजनामा विभिन्न चारवटा विकल्प दिएको छ । जसमा कम्पनी मर्ज वा र.खारेजी गर्ने बुँदा पनि समेटिएको जोशीले जानकारी दिए ।

तत्कालिन समयमा नेपालका प्रधानमन्त्री केपी ओलीको पालामा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन भएको सम्झौता हालसम्म कार्यान्वयमा आउन सकेको छैन । त्यसैलाई मूर्त रुप दिन नेशनल ट्रेडिङले भावी योजना बनाएर आयात गर्न लागेको हो ।

नेशनल ट्रेडिङको भावी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएर आउने वित्तिकै काम अघि बढाइने जोशी बताउँछन् । ‘आपूर्ति मन्त्रीले अहिले पनि नयाँ संरचना तयार गरी व्यापारलगायतका काम गर्न निर्देशन दिनुभएको छ,’ उनले भने, ‘ नेशनल ट्रेडिङको विभिन्न स्थानमा ठूलो परिणाममा जग्गा रहेको र सोही अनुरुप संचरना पनि रहेको हुँदा मन्त्रिपरिषद्ले स्वीकृति दिने वित्तिकै पेट्रोलियम आयातको काम अघि बढ्नेछ ।’ यदि नेशनल ट्रेडिङले चीनबाट पेट्रोल आयातको काम शुरु गरेमा भारतसँगको बर्षोदेखिको एकाधिकार समेत तोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL