Logo

नेपालमा किन बढ्दैछ युरोपको लगानी ?

नेपालमा किन बढ्दैछ युरोपको लगानी ?


रक्षा रेग्मी
0
Shares

काठमाडौं । भारत र चीनका लगानीकर्ताको मुख्य चासो रहँदै आएको नेपालमा पछिल्लो समय युरोपेली मुलुकका लगानीकर्ताको आकर्षण पनि बढ्न थालको छ । उद्योग विभागको पछिल्लो तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा मात्रै ती देशबाट नेपालमा  १२ अर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

अघिल्ला बर्षहरुमा खासै बढ्न नसकेको युरोपियन लगानी गत आर्थिक बर्षमा भने उल्लेखनीय बढेको विभागले जनाएको छ । तुलनात्मक रुपमा गत आवमा नेपालले उद्योग क्षेत्रमा कम लगानी प्रतिबद्धता प्राप्त गरे पनि युरोपेली मुलुकको प्रतिबद्धता भने निकै बढेको हो । आर्थिक बर्ष २०७२/७३ मा युरोपबाट नेपालमा केवल २ अर्ब १८ करोड ५२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । गत आर्थिक बर्षमा यो रकम १० अर्बले बढेको छ ।

विस्तारै लगानीको वातावरण तयार हुँदै गएको र विदेशी लगानीमैत्री नीतिले पनि लगानीकर्ताको मनोबल बढेको विभागका अनुमति शाखा अधिकृत रामप्रसाद लुँइटेलले जानकारी दिए । लगानी सम्मेलनले पनि युरोपेली मुलुकका लगानीकर्तामा सकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा बेलायतबाट सबैभन्दा बढी ५ अर्ब ३४ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । त्यस्तै लगानी प्रतिबद्धता जनाउने सुचीमा दोस्रोमा रहेको स्पेनबाट २ अर्बको प्रतिबद्धता विभागमा उल्लेख छ । नेपालमा उल्लेखनीय लगानी गर्दै आएको फ्रान्सबाट भने ६३ करोड रुपैयाँ बराबरको मात्र लगानीको प्रतिबद्धता प्राप्त छ ।

फ्रान्सको तुलनामा जर्मनीबाट भने बढी लगानीको प्रतिबद्धता भित्रिएको छ । जर्मनीका लगानीकर्ताले नेपालमा १ अर्ब २२ करोड लगानी गर्ने भएका छन् । त्यस्तै फिनल्याण्डबाट पनि ३३ करोड रुपैयाँको मात्र प्रतिबद्धता आएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार २०७१/७२ मा युरोपेली मुलुकबाट २ अर्व ९२ करोड ८८ लाख रुपैयाँको लगानीको प्रतिबद्धता आएको  थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL