Logo

कम्पनी खारेजीको प्रक्रिया शुरु, १ लाख निस्कृय कम्पनीले आवेदन दिन सक्ने

कम्पनी खारेजीको प्रक्रिया शुरु, १ लाख निस्कृय कम्पनीले आवेदन दिन सक्ने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यलयले बन्द रहेका कम्पनी खारेजीको प्रक्रिया शुरु गरेको छ । कार्यालयले एक पटक सञ्चालन गरेर विभिन्न कारणले बन्द भएका कम्पनीहरु खरेजीको प्रक्रिया अघि बढाएको हो ।
२०७४ बैशाख १९ गतेसम्म बन्द भएका कम्पनीले खारेजीका लागि आवेदन दिनसक्ने कम्पनी रजिष्ट्रार कार्यालयका उपसचिव राजेन्द्र थापाले जानकारी दिए । ‘पहिला एक पटक कारोबार गरिसकेको कम्पनी खारेज गर्न निकै झण्झट थियो,’ उनले भने, ‘अहिले त्यो प्रक्रियालाई सहज बनाइएको छ ।’
दर्ता भएर एक पटक पनि सञ्चालनमा नरहेका कम्पनी खारेजीका लागि भने साबिककै प्रक्रिया लागु हुने छ ।
कार्यालयको यस निर्णयसँगै एक पटक संचालनमा आई विभिन्न कारण बन्द भएका करिब १ लाख कम्पनीलाई राहत मिल्ने छ । कम्पनी रजिष्ट्रारमा हालसम्म १ लाख ६० हजार कम्पनी दर्ता भएकोमा ६० हजार मात्र सञ्चालनमा रहेको रजिष्ट्रार गिताकुमारी होमेगाँईले जानकारी दिइन् ।
उप सचिव थापाका अनुसार कम्पनी खारेजी गर्दा चुक्ता पूँजीको शुन्य दशमलब ५ प्रतिशत वा कानुन बमोजिमको जरिबाना तिर्नु पर्छ । कम्पनीले आफुलाई अनुकुल हुनेगरी जुन कम लाग्छ त्यो तिर्नसक्ने सुबिधा समेत दिइएको छ ।
कम्पनी रजिष्ट्रारले कम्पनी ऐन, २०६३ को दफा १३६ ‘क’ प्रारम्भ मिति अर्थात २०७४ बैशाख १९ गतेसम्म सञ्चालनमा नरहेका कम्पनीका लागि २ बर्षसम्म खारेजी गर्न मिल्ने गरी प्रक्रिया अघि बढाएको छ ।
निष्कृय रहेका कम्पनीहले खारेज गर्न चाहेको अबस्थामा साधारणसभाबाट खारेज गर्ने निर्णय गरी निवेदन दिन सक्नेछन् । तत्कालिन उद्योगमन्त्री नबीन्द्रराज जोशीले हाल सञ्चालनमा नरहेका कम्पनीलाई खारेजीको प्रक्रियामा लैजना विशेष स्किम ल्याउने घोषणा समेत गरेका थिए ।
कसरी दिने आवेदन ?
निवेदनको ढाँचा कम्पनीको वेबसाइटमा राखिएको छ । ocr.gov.np बाट ढाँचा डाउनलोड गर्न सकिन्छ । कम्पनी खारेज सम्बन्धी निवेदन र संलग्न कागजात कार्यलयको वेबसाइट लगइन गरी कम्पनीको युजर नेमबाट अनलाइन आवेदन दिनुपर्ने छ । हाल युजर नेम तथा पासवर्ड नलिएकाहरुले कार्यलयको प्रबिधि शाखाबाट लिन सक्नेछन् ।
निवेदन दिँदा चाहिने कागजात कम्पनी दर्ता खारेज गर्न चाहनेहरुका लागि सञ्चालक समिति र साधारण सभाको कम्पनीको दर्ता खारेज गर्ने निर्णयको प्रति, कम्पनी दर्तापछि हालसम्मको साधारण सभाको प्रतिवेदनको प्रति, कर चुक्ता प्रमाणपत्रको प्रति, लेखापरीक्षणको प्रतिबेदनलगायत बुझाउनुपर्छ ।
त्यस्तै कम्पनीको नाम, दर्ता मिति, ठेगाना, चुक्ता पूँजीलगायत विवरण समेत पेस गर्नुपर्छ ।
 

 

प्रतिक्रिया दिनुहोस्
MBL