Logo

वैदेशिक लगानीमा ओखलढुंगामा २० मेवाको हाइड्रो निर्माण, पिपिए अन्तिम चरणमा

वैदेशिक लगानीमा ओखलढुंगामा २० मेवाको हाइड्रो निर्माण, पिपिए अन्तिम चरणमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पिके हाइड्रोपावर प्रालिले ओखलढुंगामा २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । लिखु जलविद्युत आयोजना सञ्चालनको प्रक्रिया अघि बढाएको कम्पनीका अध्यक्ष राजेन्द्रप्रसाद तिवारीले जानकारी दिए । ‘माघबाट निर्माण कार्य शुरु गर्ने उद्देश्य सहित प्रक्रिया अघि सारेका छौं,’ उनले भने ।

कम्पनीले हाल आयोजना दर्ताका लागि उद्योग विभागमा प्रस्ताव पेस गरेको छ । लिखु जलविद्युत आयोजना ५ अर्ब १९ करोड रुपैयाँ लगानीमा निर्माण गर्न लागेको अध्यक्ष तिवारीले बताए ।

उद्योग विभागले आयोजना स्वीकृतिका लागि औद्योगिक प्रवद्र्धन बोर्डमा पठाउने तयारी गरेको छ । नियमअनुसार स्थिर पूँजी २ अर्ब रुपैयाँभन्दा माथिका उद्योग बोर्डबाट स्वीकृति गरिन्छ । जसअनुसार सो आयोजना दर्ता स्वीकृतिका लागिबोर्डमा पठाउन लागिएको हो । बोर्डले स्वीकृति दिएपछि आयोजनाको अन्य प्रक्रिया अघि बढाउन सक्नेछ ।

त्यस्तै तिवारीका अनुसार बिद्युत प्राधिकरणसँग पिपिए (पावर पर्चेज एग्रिमेन्ट)को प्रक्रिया अघि सारेको छ । ‘बर्षाको अवधिमा पिपिएको प्रक्रिया पुरा गर्ने योजना छ,’ उनले भने । आयोजनाको बिस्तृत परियोजना अध्ययन भने सकिसकेको उनले जानकारी दिए । उनकाअनुसार आयोजनामा ६२ प्रतिशत विदेशी र बाँकी ३८ प्रतिशत स्वदेशी लगानी रहने छ ।

सो कार्यका लागि विदेशी लगानीकर्तासँग सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) समेत भइसकेको अध्यक्ष तिवारीले जानकारी दिए । कम्पनिले साउन ३ गते उद्योग विभागमा दर्ताको प्रस्ताव पेस गरेको थियो । आयोजनाको स्थिर पूँजी ५ अर्ब १० करोड रुपैयाँ चालु पूँजी ९ करोड रुपैयाँ रहेको छ ।

जलविद्युत आयोजना सञ्चालनमा आएसँगै ६२ जनाले रोजगारी पाउने छन् । आयोजनाको सञ्चालकमा राजेन्द्र तिवारी सहित ३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL