Logo

वैदेशिक रोजगारीमा जाने क्रम ६२ प्रतिशतले बढ्यो, ‘रिइन्ट्री’ र व्यक्तिगतले बढायो चाप

वैदेशिक रोजगारीमा जाने क्रम ६२ प्रतिशतले बढ्यो, ‘रिइन्ट्री’ र व्यक्तिगतले बढायो चाप


रामराजा श्रेष्ठ
0
Shares

नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उच्च रुपमा बढेको छ । आर्थिक बर्ष २०७३/७४ मा नेपालबाट वैदेशिक रोजगारीमा कामादारको संख्या हालसम्मकै बढी ६ लाख ७३ हजार पुगेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

विगत ५ बर्ष पछि आब २०७२/७३ मा पहिलो पटक वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्दै कुल ४ लाख १८ हजारमा सिमित भएको थियो । तर गत आबमा यो संख्या उच्च रुपले बढेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

विभागको तथ्याङ्क अनुसार पछिल्लो समय म्यानपावरबाट संस्थागत रुपमा जाने भन्दा व्यक्तिगत र बैधानिकीकरण (रिइन्ट्री) मार्फत वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढेको छ । गत आबमा संस्थागत रुपमा ३ लाख ७३ हजार कामदार वैदेशिक रोजगारीमा गएका थिए । तर, व्यक्तिगत र बैधानिकीकरणतर्फ पनि उच्च रुपमा बृद्धि भइ ३ लाखभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएको अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार व्यक्तिगततर्फ बैधानिकीकरण गरेर जाने कामदारको संख्या उच्च रुपमा बृद्धि भएको छ । सो आबमा त्यसरी गएका कामदारको संख्या २ लाख ६० हजार जनाभन्दा बढी रहेको छ । एक पटक रोजारीमा गएका कामदार पुनः जानको लागि सम्बन्धित रोजगारदाता कम्पनीबाटै भिसा लिएर आएका हुनाले बैधानिकीकरण गरेर जाने क्रम बढेको हो । एक पटक गएको समयावधि सकिएर फर्कदा सम्बन्धित रोजगारदाता कम्पनीबाटै भिसा लिएर आउँदा लागत खर्च कम हुने भएकाले पनि बैधानिकीकरण गरेर जाने क्रम बढेको हो । नेपालमा कागजी रुपमा फ्रि भिसा फ्रि टिकट लागू भएपनि प्रायजसो म्यानपावर कम्पनीले १ लाख रुपैयाँभन्दा बढी रकम लिएर मात्र रोजगारीमा पठाउने गरेकाले कामदार फर्कदा नै भिसा लिएर आउने क्रम बढेको हो ।

यसैगरी पछिल्लो पटक व्यक्तिगत रुपमा नयाँ भिसामार्फत रोजागारीमा जाने कामदारको संख्या पनि उच्च रुपमा बढेको छ । ५ बर्ष अघि सरकारले व्यक्तिगत भिसामा रोजगारीमा जान कडाई गरेसँगै त्यसरी जाने क्रम घटेकोमा आब २०७३/७४ मा पुनः बढेको हो । सो आबमा व्यक्तिरुपमा ४० हजार जानभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पुगेका छन् ।

नेपाल सरकारले कार्यान्वयनमा ल्याएको फ्रि भिसा र फ्रि टिकटको अवधारणाले गर्दा व्यक्तिगत रुपमा बैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । ‘म्यानपावरबाट कामदार लैजादा टिकट शुल्क र भिसा पनि फ्रि दिन पर्ने भएकाले रोजगारदाता कम्पनीले सम्बन्धित देशमा रहेका गैर आवाशीय नेपाली (एनआरएन)को सहयोगमा व्यक्तिगत रुपमा कामदार लैजान थालेका छन्,’ एक वैदेशिक रोजगार व्यवसायीले भने, ‘जसले गर्दा वैदेशिक रोजगार व्यवसायमा बिकृति फैलिएको छ ।’

संस्थागत रुपमा जाने क्रम घटेर व्यक्तिगतमा जानेको संख्या बढ्नु दुखदायी कुरा भएको नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन् । ‘नेपाल सरकारले व्यवसायीलाई अनावश्यक लगाम लगाउन खोज्दा नेपाली कामदार विचौलियाको सहायतामा व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ,’ उनले भने, ‘यदि यहि गतिमा व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने हो भने त्यसरी गएका कामदार र सरकार दुबै ठूलो दुर्घटना पर्नेछन् ।’ पछिल्लो समय खाडी मुलुकमा गएर एनआरएनका खोल आडेका व्यक्तिहरुले गर्दा व्यक्तिगत रुपमा रोजगारीमा जाने क्रम बढेको समेत उनले जानकारी दिए ।

विशेषगरी नेपाली व्यवसायीहरुले मलेशियाबाट भिसा किने ल्याउने गरेका थिए । नेपाल सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरेसँगै मलेशियाको रोजगारीमा जाने कामदारको संख्यामा उच्च गिरावट आएको छ । नेपालले फ्रि भिसा फ्रि टिकट लागू गरेसँगै मलेशियाले ८ बर्षदेखि बन्द गरेको बंगलादेशबाट कामदार लैजान खुला गरेको छ । जसको प्रभाव नेपालको वैदेशिक रोजगारीमा पर्न गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL