Logo

भ्यू टावर निर्माता कम्पनीसँग ठेक्का रद्द गर्दै काठमाडौं महानगरपालिका

भ्यू टावर निर्माता कम्पनीसँग ठेक्का रद्द गर्दै काठमाडौं महानगरपालिका


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दसँग ठेक्का रद्द गर्ने भएको छ ।

सम्झौता भएको एक बर्ष पुरा भइसक्दा पनि लक्ष्य अनुसारको प्रगती नभएपछि ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । ‘कम्पनीलाई हालसम्म गरेको कामको क्षतिपूर्ती दिएर ठेक्का रद्द गर्न लागिएको हो’ उनले भने ।

लामो समयदेखि निर्माण कार्य रोकिएको भन्दै महानगरपालिकाले हरि कुवंरको नेतृत्वमा प्रगती विवरण बुझाउन गत महिना ठेकेदार कम्पनीलाई पत्राचार गरेको थियो । तर ठेकेदार कम्पनीले अहिलेसम्म विवरण पेस नगरेको प्रवक्ता कार्कीले बताए । ‘कम्पनीलाई कामको अवस्था, लाग्ने समयबारे विवरण बुझाउन पत्राचार गरेका थियौ’ कार्कीले भने ‘हालसम्म न प्रगती विवरण पठाएको छ न ठेकेदारले सम्पर्क गरेको छ ।’

बारम्बार जानकारी गराउँदा पनि कम्पनीले निर्माण कार्यलाई निरन्तरता नदिएको महानगरपालिकाको आरोप छ । कम्पनीसँग प्रक्रिया पुर्याएर मात्र ठेक्का रद्ध गर्नु पर्ने भएकोले केहि समय लाग्ने महानगरपालिकाले जनाएको छ । ‘सार्वजनिक खरिद ऐनले गर्दा कम्पनीसँग सिधै ठेक्का रद्द गर्न मिल्दैन,’ कार्कीले भने ‘त्यसको फाइदा ठेकेदारले लिएको छ ।

त्यसो त महानगरले यसअघि पनि काम शुरु नगरेको भन्दै ठेक्का रद्द गर्ने चेतावनी दिएको थियो । ठेकेदार कम्पनीले ठेक्का कायम राख्न ९८ लाख ३३ हजार ३ सय रुपैयाँ राजस्व तिरेको होे । महानगर निर्माण कम्पनीबीच दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर हालसम्म एक प्रतिशत पनि प्रगती नभएको कार्कीले जानकारी दिए ।

२०७२ को सुरुबाट टावरको निर्माण प्रारम्भ हुने भनिएपनि भुकम्पका कारण काम रोकिएको थियो । पहिला २५ तले बनाउने सम्झौता भएकोमा भुकम्पपछि टावर १२ तलाको बनाउने निर्णय गरिएको थियो । त्यसपछि नाकाबन्दीले गर्दा काम सुरु हुन सकेको थिएन । कम्पनीले बनाउन लागेको १२ तले काठमाडौं भ्यु टावरको निर्माण सुरु गरेको १८ महिनामा सक्ने लक्ष्य राखेको छ । सो टावरको लागत साढे ३ अर्व अनुमान गरिएको छ ।

टावरले ओगट्नेमध्ये २० प्रतिशत स्थान पार्किङका लागि छुट्याइने छ । टावरको ग्राउन्ड फ्लोरमा अरनिको बसको पार्किङ र माथि २ ओटा तलामा उपत्यकाका सार्वजनिक सवारी तथा हलुका गाडीहरुको पार्किङ रहनेछ । सो भवनमा व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहने छ । नेपाली संस्कृति झल्कने विभिन्न स्वदेशी उत्पादनका साथै विदेशी सामग्रीहरु राखिने छ ।

काठमाडौं महानगरपालिकाले टावर निर्माणका लािग जलेश्वर, स्वछन्द र विकोइसँग सम्झौता गरेको हो । दुई पक्षबीच अघिल्लो फागुन २२ गते अन्तिम हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन निर्माण गरी ३० बर्षसम्म चलाउनेछन् । त्यस्तै सुरु गरेको ५ वर्षभित्र सो टावर बनाइसक्नुपर्ने तथा त्सपछिका २५ बर्ष सञ्चालन अवधि रहनेछ । ३० बर्षपछी कम्पनीले सो भवन काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL