Logo

रुप फेरेपछि चम्कियो रत्नपार्क, आम्दानीमात्रै एक करोड नाघ्यो

रुप फेरेपछि चम्कियो रत्नपार्क, आम्दानीमात्रै एक करोड नाघ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राजधानीबासीका लागि रत्नपार्क चिनाइरहनु पर्ने नाम होइन । केहि बर्षअघिसम्म निकै अव्यवस्थित रत्नपार्कले आफ्नो नामसँगै बदनामी पनि बोक्नुपरेको थियो । नामजस्तै पार्क त थियो तर त्यसको कुनै छनक यहाँ देखिदैनथ्यो । अँध्यारो हुँदै गर्दा बढ्ने ‘अवैध’ गतिविधिले रत्नपार्कको ‘इज्जत’ धुमिल बनाइदिएको थियो । तर रत्नपार्क अहिले फेरिएको छ । धुमिल इतिहासलाई टकटकाउँदै यसको स्वरुप विस्तारै चम्किन पनि थालेको छ ।

कुनै समय निःशूल्क आवतजावत गर्न सकिने रत्नपार्कले अब यहाँ भित्रने सबैलाई अनुशासित बनाउन थालेको छ । अर्थात यहाँको पार्कभित्र समय बिताउन पनि पैसा तिर्नुपर्ने व्यवस्था काठमाडौं महानगरपालिकाले गरेको छ । कुनै समय रत्नपार्क पुगेर आएको सुनाउँदा लज्जित महसुस हुनुपर्ने अवस्था अहिले फेरिएको छ । परिवार नै गएर सँगै समय बिताउने ठाउँ बनेको छ यो । पार्क भित्र उपलब्ध निःशूल्क वाईफाई सुविधाले युवायुवतीको आकर्षण रत्नपार्कमा अझ बढाएको छ ।

काठमाडौं महानगरपालिका रत्नपार्क तथा रानीपोखरी इकाइका अनुसार अहिले दैनिक १२ सय व्यक्ति रत्नपार्क घुमघामका लागि आउँछन् । घुम्ने व्यक्तिको सङ्ख्या बढ्दै जाँदा रत्नपार्कको आम्दानी पनि बढेको छ । इकाइ प्रमुख हरिशरण केसीका अनुसार चालु आर्थिक बर्षको असार मध्यसम्म रत्नपार्कको आम्दानी एक करोड नाघेको छ । यो आम्दानी गत आर्थिक बर्षमा ८४ लाख रुपैयाँ थियो । असारमा तिजका गित सुटिङ् हुने भएकोले पनि रत्पार्कका लागि यो महिना थप आम्दानी हुने समय रहेको उनले बताए ।

के छ रत्नपार्कमा ?

रत्नपार्कभित्र एक दर्जन चौतारा, ९५ ओटा र बच्चाका लागि पिङ तथा स्लाइडर छ । पार्कमा नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड लाइन तथा इन्भर्टर पनि राखिएको छ । रत्नपार्कमा सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ ।


यस्ता छन् योजना
रत्नपार्कका पानी पर्दा ओत लाग्ने ठाउँ नभएको भन्दैै सेड हाउस बनाउने तयारी गरिएको छ । दुई ओटा सेड निर्माणको तयारी थालिएको केसीले जानकारी दिए । ‘अहिले पानी पर्ने बित्तिकै ओतलाग्न अफिसको छेउछाउ आउनुपर्ने अवस्था छ’ उनले भने ।

त्यस्तै उद्यान भित्र छिर्ने अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै क्यान्टिन सञ्चालन गर्न लागिएको पनि उनले बताए । बताइएको छ । क्यान्टिन सञ्चालनको लागि महानगरले बोलपत्र आह्वान गरिसकेको उनले जानकारी दिए ।

रत्नपार्क रात्रीकालीन समयमा आनन्द विहारको लागि बनाइएको थियो । यसको स्थापना विसं २०१८ मा भएको हो । तत्कालीन रानी रत्नले उपत्यकामा पार्क अभाव महसुस गरेपछि उपत्यका निर्माण समिति गठन गरेर समितिलाई रत्नपार्क, बालाजु पार्क र भृकुटीमण्डप निर्माण गर्ने जिम्मा दिइएको थियो । पहिला गृह पञ्चायत र विकास समितिको मातहतमा रहेको रत्नपार्क २०५९ सालदेखि महानगरले व्यवस्थापन गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL