Logo

असारभित्रै झिलिमिली हुँदैछन् काठमाडौंका सडक, सात सय सोलार प्यानल जडान

असारभित्रै झिलिमिली हुँदैछन् काठमाडौंका सडक, सात सय सोलार प्यानल जडान


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौंका मूख्य सडक असारभित्रै झिलिमीली हुने भएका छन् । काठमाडौं महानगरपालिकाले सहरका प्रमुख सडकलाई लक्षित गरेर सोलार जडानलाई गति दिएपछि रातको समयमा सडक उज्याला हुनेछन् ।

महानगरपालिकाले सोलार जडानको जिम्मा दिएको कम्पनी बीके ट्रेडर्स एण्ड सप्लायर्सले असारभित्रै काम पुरा गर्ने लक्ष्य राखेको निर्देशक रोशन श्रीवास्तव बताउछन् । ‘अहिलेसम्म सात सयओटा सोलार प्यानल जडान गरिसकेका छौं,’ उनले भने ‘बाँकी सोलार पनि जडानको क्रममा छ ।’ लक्ष्यभन्दा तिव्र गतिमा काम भएपनि बिजुलीको हाइटेन्सन लाइन तथा कुनैकुनै ठाउँमा फुटपाथ नहुँदा सोलार राख्न समस्या भएको उनले बताए ।

 

विद्युत प्राधिकरणले सोलार राख्ने ठाउँका पुराना पोलहरु हटाउने भनेपनि अहिलेसम्म त्यो काम नहुँदा सोलार जडानमा समस्या भएको श्रीवास्तवको गुनासो छ । त्यस्तै कतिपय स्थानमा फुटपाथ नहुँदा राख्न चाहेजति सोलार जडान गर्न नमिलेको उनले बताए । उनका अनुसार अनामनगरमा चार सयओटा सोलार राख्ने भनिएको ठाउँमा ५० ओटा मात्र जडान गरिएको छ ।

सोलार जडानका लागि १५ ओटा कम्पनीले आवेदन दिएका थिए । महानगरपालिकाले आगामी डेढ बर्षभित्र उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सोलार बत्ती जडान गर्न लागेको हो । काठमाडौंका मूख्य सडकहरुलाई उज्यालो बनाउने उद्देश्यका साथ यो कार्यक्रम अगाडी बढाइएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

कहाँकहाँ भयो जडान ?

सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टा छुट्टै खण्ड पहिचान गरेको थियो । जसअनुसार कलंकी देखि माइतीघर, केशरमहल चोकदेखि ठमेल , क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सोलार राखिसकेको छ ।

त्यस्तै दोश्रो खण्डमा दरबारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी र गौशालामा सोलार राखिसकेको छ । त्यस्तै ज्ञानेश्वरदेखि मैतीदेवीसम्म सोलार जडान हुनेछ । सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो खण्डमा ४ सय पोल राख्न बाँकी छ ।

महानगरले पहिचान गरेको तेस्रो जोनमा ३ सय ८५ पोल राखिने छ । सो खण्ड अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै संखमुल पुलसम्म, तिनकुने कोटेश्वरहुँदै नरेफाँट र पुरानो बानेश्वर, भिमशेनगोला हुँदै सिनामंगल चोकसम्म सौर्य बत्ती जडान गरिने छ ।

एउटा पोलका लागि १ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सोलार जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्बन्धित कम्पनीले नै ब्यहोर्ने छ । बीके ट्रेडर्सले सोलारको पोलमा विज्ञापन राखेर आम्दानी गर्ने छ । ‘उसले सोलार पोलमा अन्य कम्पनीलाई विज्ञापन राख्न दिन्छ’  प्रवक्ता कार्कीले भने ‘सो विज्ञापन राखेबापत पैसा लिएर आम्दानी गर्छ ।’ पोलमा राखिने विज्ञापनको बोर्ड ग्लोसाइन बोर्ड हुनुपर्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL