Logo

चारै अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कछुवा गतिमा, किन भइरहेछ प्रगति निराशाजनक ?

चारै अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कछुवा गतिमा, किन भइरहेछ प्रगति निराशाजनक ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले विश्वका विभिन्न मुलुकसँग प्रत्यक्ष हवाई सम्पर्कको उद्देश्यसहित अघि बढाएका अन्तरराष्ट्रिय विमानस्थलहरुको निर्माण सुस्त देखिएको छ । हाल सञ्चालनमा रहेको एकात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती र नयाँ तीन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कछुवा गतिमा भइरहेको हो ।

खासगरी कमजोर व्यवस्थापन र ठेकेदारको लापरबाहीका कारण रणनीतिक महत्वका चारै अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले गति लिन नसकेको हो । निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थलहरुमा कमजोर व्यवस्थापनले गर्दा सोचे अनुसार गति लिन नसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताउँछन् ।

सरकारले राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन । तीनै ओटा विमानस्थलको प्रगति निराशाजनक अवस्थामा रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतीले पनि गति पाउन सकेको छैन । २०७३ असोजमै स्तरोन्नतिको काम सक्ने लक्ष्य लिइएको थियो । तर, निर्माणको जिम्मा पाएको कम्पनी सान्जोसेले १७ प्रतिशत भन्दा बढी काम गर्न सकेन । लक्ष्यअनुसार काम नभएपछि सान्जोसेसँगको ठेक्का सम्झौता रद्द भइसकेको छ ।

गौतम बुद्ध विमानस्थलको निर्माणले पनि अपेक्षा अनुसार गति लिन नसकेको परियोजना प्रमुख ओक शर्माले बताए । ठेकेदार कम्पनीको कमजोर व्यवस्थापन क्षमताका कारण काम अघि नबढेको उनले जानकारी दिए । २०७५ चैतमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यस विमानस्थलको भौतिक निर्माण काम करिव ३० प्रतिशत सकिएको छ । निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशन र सहठेकेदार नर्थवेष्ट इन्फा नेपाल प्रालीबीचको विवादले पनि काम प्रभावित भइरहेको छ ।

यसैगरी पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको डिपिआर तयार भएको छ । विमानस्थल आयोजना निर्माण गर्न चिनियाँ एक्जिम बैंकबाट लिइएको सहुलियतपूर्ण ऋण कार्यान्वयका लागि ‘इस्क्रो एकाउन्ट’ खाताको खोल्ने विवादले काम ढिलाइ भएको छ । यद्यपी, अहिले सवै विवाद सम्पन्न भइसकेकाले अब निर्माण अघि बढ्ने परियोजनाले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२०सम्ममा सञ्चालनमा ल्याईसक्ने सरकारले २०२० लक्ष्य छ । तर, अहिलेको प्रगतिअनुसार पोखरा विमानस्थल लक्ष्य भन्दा थप एक ढिला  सम्पन्न हुने देखिएको छ ।

निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन अध्ययनका लागि टेन्डर भएको छ । विमानस्थलको रुख काट्नेलगायत आधारभुत काम गर्ने जिम्मा सेनाले पाएको छ ।

सरकारले आगामी आर्थिक वर्षका निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल, भैरहवाको गौतमबुद्ध क्षेत्रिय अन्तर्राष्ट्रिय र पोखराको पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि १३ अर्व ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL